पार्टी एकता प्रकृयामा शङ्का गर्नु पर्दैन : प्रचण्ड

 मंसिर १, २०७५ शनिबार १८:१६:१७ | उषा तामाङ
unn.prixa.net

फाइल फाेटाे

दोलखा – नेपाल कम्युनिष्ट पार्टी ने क पा का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पार्टी एकता प्रकृयामा शङ्का गर्नु पर्ने अवस्था नरहेको बताउनुभएको छ ।

शनिबार रिनेजम नेपालले आयोजना गरेको ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटनका लागि दोलखा आउनुभएका अध्यक्ष दहालले कार्यकर्ता भेटघाट कार्यक्रममा मंसिर ६ गते हुने पार्टी सचिवालय बैठकले प्रदेश र जिल्ला तहमा एकताको प्रकृया टुङ्गो लगाउने जानकारी दिनुभयो ।

उहाँले अहिले पनि एकता प्रकृया भाड्न स्वदेशी तथा विदेश केही तत्वहरु लागि परेको उल्लेख गर्दैै त्यस्ता हरेक बाधा अड्चनलाई पन्छाएर अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले कमिटी निर्माणमा भएको ढिलाई विवाद र झमेलाको कारण नभएको स्पष्ट पार्नुभयो । दुई वटा ठूलो कम्युनिष्ट पार्टीको एकता विश्वकै लागि उदाहरणीय रहेको उल्लेख गर्दै यसले अहिले पनि कम्युनिष्ट पार्टी आक्रमक छ भन्ने सन्देश दिएको उहाँको भनाई थियो ।

विश्वमा कम्युनिष्टहरु रक्षात्मक अवस्थामा रहेको बेला नेपालमा भएको दुई ठूला कम्युनिष्ट पार्टीको एकता र कम्युनिष्ट पार्टीको नेतृत्वमा झण्डै दुई तिहाईको सरकार निर्माण असाधारण र दुर्लभ परिघटना रहेको अध्यक्ष दहालको भनाई छ ।

पार्टी एकताको बेला तल्लो कमिटीसम्म तीन महिनाभित्र एकता सक्ने भनेकोमा त्यस्तो हुन नसकेको स्वीकार गर्दैै अध्यक्ष दहालले तल्लो कमिटीसम्म एकता भैनसक्नुमा नेताहरुको विदेश भ्रमण, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था र कार्यदलले सोचेअनुसार चाँडो काम गर्न नसक्नु रहेको बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया