सेती नदीमा करेन्ट लगाएर माछा मार्ने क्रम बढ्यो

 मंसिर १, २०७५ शनिबार १८:३८:१६ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको सेती नदीलगायत अन्य ग्रामीण भेगमा रहेका नदी र खोलाहरूमा केही सयम यतादेखि विष्फोटक पदार्थ लोला, जिलेटिन र करेन्टको प्रयोग गरेर धमाधम माछा मार्ने क्रम बढेको छ ।

सेती नदी तथा स्थानीय खोलामा विष्फोटक पदार्थ लोला, जिलेटिन तथा करेन्ट लगाएर माछाका प्रजाति नै सखाप पार्ने काम हुने गरेको स्थानीयवासीको गुनासो छ ।
खुलेआम रुपमा खोला र नदीमा विष्फोटक पदार्थ तथा करेन्ट लगाएर माछा मार्ने गरे पनि प्रहरी र अन्य निकायले केही पनि नगरेको स्थानीयहरूको गुनासो गरेका छने ।

धेरै जसो खोलाहरूमा सोलार ब्याट्री र तारको जोहो गरी माछा मार्ने  गरिएको  र नदीमा विष्फोटक पदार्थ लोला, जिलेटिनको प्रयोग गरी बलाष्टिङ गरी माछा मार्ने काम भइरहेको केआईसिंह गाउँपालिकामा पर्ने नारीदांङका स्थानीय करबिर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सडक छेउछाउमा पर्ने तालहरुमा विष्टफोट गरे प्रहरी आउँछन् भनेर विष्फोट गर्दैनन्, यो ठाउँ एकान्त तथा सडक यातायातबाट टाढा भएकाले अधिकांशहरु विष्फोटक पर्दाथ लिएर दिनहुँ आउने र माछा मार्ने गर्छन् ।’

विष्फोटक पर्दाथ प्रयोग गरी माछा मार्दा अन्य साना माछा पनि मर्ने भएकाले माछाको प्रजाति नै लोप हुने स्थानीयवासीको दुखेसो छ । स्थानीयवासीका अनुसार विष्फोटक पर्दाथ प्रयोग गरी माछा मार्नेमा यहाँका स्थानीयवासीसँगै सडक तथा अन्य संरचना निर्माणमा संलग्न मजदुरहरू, प्रहरी र निर्माण व्यवसायीहरू नै रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया