चुनावमा देखाएका प्रतिबद्धता पूरा गरेरै छोड्छौं : मन्त्री अधिकारी

 मंसिर १, २०७५ शनिबार १८:५१:४८ | रासस
unn.prixa.net

फाइल फाेटाे

बागलुङ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल कम्युनिष्ट पार्टी ने क पा ले चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्ने चरणमा रहेको बताउनुभएको छ ।

बागलुङको बडिगाड गाउँपालिकामा शनिबारदेखि शुरु भएको प्रथम बडिगाड महोत्सव तथा न्वागी मेला २०७५ को उद्घाटन गर्दै उहाँले विगतका सरकार सञ्चालकले सरकार सञ्चालनमा बनाइएका खाल्डा पुर्दै जाँदा नागरिकका बीचमा गरेका प्रतिबद्धताअनुरुप काम गर्न समय लागेको बताउनुभयो ।

देशमा सङ्घीय गणतन्त्रको स्थापनासँगै समृद्धिको ढोका खुलेको भन्दै मन्त्री अधिकारीले विगतका सरकारले जस्तो ६ महिना वा नौ महिनामा परिणाम देखाउने नभई दीर्घकालीन परिणाम देखाउने गरी वर्तमान सरकारले काम गरिरहेको दाबी गर्नुभयो ।

आर्थिक वृद्धिदर ९ प्रतिशत र पर्यटकको सङ्ख्यामा ३०/५० प्रतिशतले वृद्धि गरेको भन्दै अधिकारीले अबको पाँच वर्षमा देशले मुहार फेर्ने दाबी गर्नुभयो । बागलुङको पश्मिम क्षेत्रका पर्यटकीय स्थलहरु ढोरपाटन, चमेरे गुफा र धनपतिको मन्दिरलगायतका क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने अधिकारीको भनाइ थियो । 

अन्तिम अपडेट: मंसिर ४, २०७५

तपाईको प्रतिक्रिया