अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
बाँके – प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत साधन समितिका सभापति पूर्णाकुमारी सुवेदीले आफ्नी बुहारीलाई घरबाटै दुलहीको रुपमा अन्माउनुभएको छ ।
सुवेदी र उहाँका श्रीमान ने क पा बाँकेका नेता प्रकाश सुवेदीले शनिबार कोहलपुरमा रहेको निवासमै बुहारीलाई टीका टालो गरी छोरीको रुपमा अन्माउनुभएको हो ।
बुहारी मालती शर्माले बिहे गर्ने प्रस्ताव गरेपछि सुवेदी परिवारले छोरीको रुपमा अन्माउने निर्णय गरेको हो । मालतीलाई लिनका लागि नेपालगञ्ज भृकुटीनगरका सुधीर गौतम जन्तीसहित शनिबार सुवेदी निवासमा पुग्नुभएको थियो ।
संसदीय समितिका सभापति सुवेदीले बुहारीको खुशी नै आफूहरुको खुशी भएको बताउनुभयो । ‘हामीले मालतीलाई बुहारी नभई सधैँ छोरीको रुपमा लिएका थियौं’, सुवेदीले भन्नुभयो, ‘अहिले उनको खुशीका लागि घरबाट छोरीको रुपमा बिहे गरी पठाएका छौं ।’
मालतीका श्रीमान तथा सुवेदी परिवारका जेठा छोरा नेपालगञ्जका युवा व्यवसायी अच्यूत सुवेदी तीन वर्षअघि भूकम्पमा परि काठमाडौंमा घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा निधन भएको थियो ।
मालतीका छोरा र छोरी छन् । बुहारीको बिहेका लागि सुवेदी परिवारले पार्टीका नेता कार्यकर्तालाई आमन्त्रण गर्नुभएको थियो । बिहेमा सहभागी भएर फर्कनुभएकी प्रदेशसभा सदस्य कृष्ण केसी नमूनाले सुवेदी परिवारले गरेको निर्णय सामाजिक रुपमा सबैभन्दा महत्वपूर्ण पुण्यको काम भएको बताउनुभयो ।