कटुवा पेस्तोलसहित तीन भारतीय पक्राउ

 मंसिर १, २०७५ शनिबार १९:४७:९ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सुनसरी – शनिबार सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रबाट कटुवा पेस्तोलसहित तीनजना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार भीमनगर पञ्चायत वडा नम्बर ४ बस्ने रञ्जीतकुमार मुखिया, जिल्ला सुपौल भवानीपुर–७ का १८ वर्षीय विवेक यादव र मोटरसाइकल चालक सुपौल जिल्ला सीतापुर बस्ने १७ वर्षीय सुमितकुमार गोइत रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

सुनसरीको कोशी गाउँपालिका–६, श्रीपुर र ८ हरिपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल हरिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको नेतृत्वमा खटिएको टोलीले कोशी गाउँपालिका–८ भण्टाबारीबाट रञ्जीतकुमार मुखियालाई पक्राउ गरेको छ भने सशस्त्र प्रहरी बल श्रीपुरबाट सशस्त्र प्रहरी निरीक्षक नीरन थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–६ श्रीपुरजब्दी धताटोलबाट विवेक यादव र मोटरसाइकल चालक सुमितकुमार गोइतलाई पक्राउ गरेको छ ।

जाँचका क्रममा उनीहरुलार्ई पेस्तोलसहित पक्राउ गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । बीआर ५० एफ ३२०६ नम्बरको अपाची मोटरसाइकलको सिटमुनि लुकाएको अवस्थामा मुखियालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मुखियाको साथबाट एक थान कटुवा पेस्तोल, दुई थान मोबाइल, चाँदीको ब्रस्लेट, चाँदीको सिक्री र केही नगद बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया