नेतृत्व नफेरिएसम्म कांग्रेस फेरिँदैन : डा. शेखर कोइराला

 मंसिर २, २०७५ आइतबार ९:०:३१ | टेकमान शाक्य
unn.prixa.net

उपसभापतिमा विजय गच्छदार नियुक्त भएसँगै नेपाली कांग्रेसभित्र विवाद सुरु भएको छ । कांग्रेसको विधानमा १ जना मात्रै उप–सभापति रहने व्यवस्था भए पनि सभापति शेरबहादुर देउवाले उपसभापतिमा विजयकुमार गच्छदारलाई नियुक्त गरेपछि विवाद चुलिएको हो । यसै विषयको सेरोफेरोमा रहेर नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग टेकमान शाक्यले कुराकानी गर्नुभएको छ ।

नेपाली कांग्रेसभित्र सभापति देउवाविरुद्ध मोर्चाबन्दी नै सुरु भयो । तपाईंहरुको असन्तुष्टी के के विषयमा हो ?

अहिले नेपाली कांग्रेस कमजोर अवस्थामा छ । नेपाली कांग्रेसलाई कसरी अग्रपंक्तिमा ल्याउने भन्ने विषयमा नै हामीले छलफल गरेका हौँ । विजयकुमार गच्छदारलाई उप–सभापतिमा एकलौटी ढंगले नियुक्त गरिएको छ । पार्टीको विधान संशोधन हुँदैछ । महासमिति बैठक डाकिएको छ, तर मिति पटकपटक सरेको छ । यिनै विषयमा हाम्रो असन्तुष्टी हो । नेताहरुले जे जे भन्यो, महासमिति सदस्यहरुले मान्छन् भन्ने मानसिकता छ भने त्यो पनि गलत छ ।

सबै एकैठाउँमा भेला भई छलफल गर्नुको सट्टा छुट्टै भेला गर्नुको औचित्य के रहन्छ ?

आवश्यकता र औचित्य भन्दा पनि नेपाली कांग्रेस अहिले कमजोर अवस्थामा छ । नेपाली कांग्रेसलाई शक्तिशाली बनाउनु छ । महासमिति बैठक ५ गतेदेखि गर्ने भनेर भन्यौँ, त्यसलाई सारेर २८ गते गर्ने भनिएको छ । हुन्छ कि हुँदैन अझै अन्यौल छ । निर्णय गर्दा छलफल हुनुपर्‍याे । नेपाली कांग्रेसमा ८५ जनाले बोल्नुपर्‍याे। उहाँहरुले पनि भन्नुभएका कुरालाई सम्बोधन गर्नुपर्‍याे । अनि पास गर्नुपर्‍याे । जुन समयसीमा दिइन्छ, त्यो समयमा काम हुनुपर्यो भन्ने हाम्रो भनाई हो ।

यी कुरामा छलफल गर्न लागि हामी विचार मिल्ने साथिहरु भेला भएका हौँ । यो विषयलाई त्यति ठूलो बनाईराख्नुपर्छ जस्तो मलाई लाग्दैन । दोस्रो कुरा महाधिवेशन पनि समयमा हुनुपर्‍याे । महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्यो भने मात्रै नेपाली कांग्रेसले उर्जा प्रदान गर्छ ।

पार्टीको अन्तरविरोधकै कारण चुनावमा तपाईहरुले नराम्रोसँग हार व्यहोर्नुभयो । यसैगरी अघि बढ्दै जाने हो भने, नेपाली कांग्रेसको अबको भविष्य के रहन्छ ?

नेपाली कांग्रेस जसरी अघि बढ्दै छ, त्यसले पार्टीलाई मात्रै हैन सिंगो देशलाई नै असर गरिरहेको छ । राजनीतिक दलहरु कमजोर हुँदा त्यसले देशलाई नै असर गर्छ । अहिले जे भैरहेको छ, त्यसैको उपज हो यो । यो विषयमा पनि हामीले छलफल गरेका छौं । यसरी नै सभापति शेरबहादुर देउवा अघि बढिरहने हो भने कांग्रेसलाई मात्रै होइन देशलाई नै असर गर्छ ।

अहिले नेपाली कांग्रेसका भ्रातृ संगठनहरु पनि मजबुत छैनन् । पार्टीभित्र हालीमुहालीको राजनीति भैरहेको छ भनेर तपाईंले नै भन्नुभयो । कांग्रेस सुध्रन के गर्नुपर्ला ?

कांग्रेसका नेता र नेतृत्वको बीचमा अहिले भैरहेको अकर्मण्यता र संवादहिनताको अवस्था अन्त्य हुनु जरुरी छ । १४ औँ महाधिवेशनपछि लागू हुनेगरी कांग्रेस महासमिति विधान संशोधन गरी अगाडि बढ्नुपर्छ । महाधिवेशन समयमा हुनुपर्यो । नेपाली कांग्रेसमा त्यसै ऊर्जा आइहाल्छ ।

त्यो भन्या जति पनि पार्टीभित्र बेथितिहरु छन्, सबै सभापति देउवाकै कारण भएको भन्ने हो ?

विधान विपरित त उहाँ अलिअलि चलिरहनुभएको नै छ । प्रमुख रुपमा अकर्मण्यता र संवादहिनताले यस्तो भएको हो । १ वर्ष पहिले नै विजय गच्छदारलाई उप–सभापति बनाउने भनेर भनिएको थियो । त्यतिखेर नै उप–सभापति बनाएको भए भैहाल्थ्यो नि । अहिले आएर यस्तो निर्णय गर्न मिल्छ ? मिल्दैन नि । अकर्मण्यताकै कारण १ वर्षअघि हुने काम अहिले आएर भयो । 

कांग्रेसको विधानमा १ जना मात्रै उपसभापति रहने व्यवस्था रहँदा रहँदै देउवाले किन विधान मिचेर निर्णय लिनुभयो त उसो भए ? तपाई गच्छदारको विरोधमा की सभापतिको ?

एकवर्ष अघि नै हामीले यो निर्णय गरेका थियौँ । अकर्मण्यता र संवादहिनताकै कारण विजय गच्छदारलाई उपसभापति बनाउने प्रक्रिया लम्बियो । सभापति देउवाले संवाद नै गर्नुहुन्न, अनि कहाँबाट पार्टी राम्ररी चल्छ ? निर्वाचन लगत्तै नियुक्त गरिदिएको भए भैहाल्थ्यो नि । अहिले पार्टी भताभुंग भएको पनि उहाँकै कारणले हो ।

उसो भए, सभापति देउवाकै ‘इन्टेनशन’ले अहिले यो विषय बाहिर आएको हो ?

महासमिति वैठकमा विजय गच्छदार पनि सामेल हुनुपर्छ नि । उहाँहरुको त पार्टी ‘मर्ज’ भएको हो, व्यक्ति एक्लै त आउनुभएको होइन नि । यो त व्यक्तिगत नभई राजनीतिक निर्णय हो नि । राजनीतिक निर्णय भएपछि कहिलेकाहीँ विधान विपरित पनि हुन्छ । तर, पार्टीमा छलफल त हुनुपर्‍याे नि ।

कसैको ‘इन्टेनशन’ भन्दा पनि पार्टी विधी र विधानमा चल्नुपर्यो भन्ने हो । अहिलेकै नेतृत्वले नेपाली कांग्रेसलाई अगाडि बढाउन सक्दैन । नयाँ नेतृत्व जबसम्मा आउँदैन, नेपाली कांग्रेस तबसम्म कमजोर नै हुन्छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया