मलेसियाको रोजगारी खुलाउन अझै अलमल

 मंसिर २, २०७५ आइतबार ९:५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - श्रम सम्झौता भएको तीन हप्ता पुग्दासमेत मलेसियाको रोजगारी खुल्न सकेको छैन । कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता भएपछि कात्तिक मसान्तभित्र रोजगारी खुलाउने भनिएको थियो । तर मंसिर सुरु भैसक्दासमेत रोजगारी खुलेको छैन ।

‘प्राविधिक समितिले आफ्नो काम अन्तिम चरणमा पुर्याएको छ, अब छिटै रोजगारी खुल्छ’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले उज्यालो अनलाइनसँग भन्नुभयो ।

तीन हप्ताअघि कात्तिक १२ गते मलेसियासँग कामदार भर्ना, रोजगार र फिर्तासम्बन्धी समझदारीपत्र (एमओयू) भएको थियो । त्यसपछि दुई देशका उच्च अधिकारी सम्मिलित प्राविधिक समिति गठन भएको थियो। सम्झौतालगत्तै समितिले काम थालेको भनिए पनि टुंगो लागेको छैन । 

अघिल्लो हप्ता 'कोलोम्बो प्रोसेस'को तयारीका कारण प्राविधिक समितिको बैठक बस्न नसकेको र आइतबारदेखि बैठक बसेर काम अघि बढाइने मन्त्रालयले जनाएको छ ।

मलेसियासँग श्रम सम्झौता भएदेखि नै वैदेशिक रोजगार व्यवसायीले विरोध गर्दै आएका छन्। उनीहरूले शून्य लागतमा कामदार पठाउन नसक्ने अडान लिएका छन् । 

स्वास्थ परीक्षण, भिसा स्ट्याम्पिङ, सेक्युरिटी क्लियरेन्स, राहदानी संकलन र मेडिकलपूर्व अनलाइन रजिस्ट्रेसन शीर्षकमा वायोमेट्रिक, भीएलएन, माइग्राम, आईसी र जीएससी संस्थाले अवैधरूपमा कामदारबाट १७ हजार सात सय रुपैयाँ असुल्न नरोकेपछि सरकारले गएको जेठदेखि मलेसियामा कामदार पठाउन रोकेको थियो।

वैदेशिक रोजगार विभागका अनुसार मलेसियामा ६ लाखभन्दा बढी नेपाली कामदार छन्। सन् २००२ देखि कामदार लैजान थालेको मलेसिया र नेपालबीच पहिलो पटक श्रम सम्झौता भएको हो ।

यो पनि पढ्नुहोस् : नेपाल र मलेसियाबीच श्रम सम्झौता : मलेसियामा कार्यरत नेपालीले किरिया बिदा समेत पाउने

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया