रसिदका भरमा गाडी चलाइरहेका चालकले तत्काल स्मार्ट लाइसेन्स नपाउने

 मंसिर २, २०७५ आइतबार ९:३०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – रसिदका भरमा गाडी र मोटरसाइकल चलाइरहेका चालकले तत्काल स्मार्ट लाइसेन्स नपाउने भएका छन् । 

डेढ महिनामा ५ लाख लाइसेन्स छपाइ गर्ने दाबी गर्दै छपाइको जिम्मा दिए पनि निजी कम्पनीले १ महिनामा ६० हजार मात्र लाइसेन्स छापेको छ । यातायात व्यवस्था विभागले मात्र छाप्न नपुगेको भन्दै निजी कम्पनी मालिका इनकर्पोरेट लिमिटेडलेस्मार्ट लाइसेन्स छपाइ गर्ने जिम्मा दिएको हो । 

स्मार्ट लाइसेन्स पर्याप्त छपाई नहुँदा ५ लाखभन्दा धेरैले रसिद लिएर गाडी र मोटरसाइकल चलाइरेका छन् । झण्डै १ वर्षदेखि स्मार्ट लाइसेन्स माग अनुसार वितरण हुन सकेको छैन । 

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बीचमा प्राविधिक गडबढीका कारण मालिकाले सोचेअनुसार काम गर्न नसकेको बताउनुभयो । विभागले दैनिक २५ सयको हाराहारीमा नयाँ लाइसेन्स छापिरहेको छ ।

एक दिनमा झण्डै ८ हजार लाइसेन्स छाप्ने क्षमताको प्रिन्टर ल्याउने तयारी गरिरहेकाले पनि अबको एक महिनामा अहिले चीटको भरमा गाडी गुडाइरहेका सबैले स्मार्ट लाइसेन्स पाउने उहाँले दाबी गर्नुभयो । दैनिक नयाँ र पुराना गरी ६ हजार भन्दा धेरै लाइसेन्सको माग हुने गरेको छ । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया