दुई महिनामा दाङमा पाँचसय टन मह उत्पादन

 मंसिर २, २०७५ आइतबार १५:२५:५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – बाहिरबाट चराउन ल्याएका मौरीबाट दाङमा दुई महिनाको अवधिमा झण्डै ५ सय मेट्रिक टन मह उत्पादन भएको छ ।

दाङका ६ सय ५० भन्दा बढी व्यवसायिक मौरी पालक किसानका माहुरी र बाहिरी जिल्लाबाट चराउन दाङ ल्याइएका मौरीबाट कात्तिक र मंसिर दुई महिनामा ५ सय टनभन्दा बढी मह उत्पादन भएको मौरी पालक महासंघले जनाएको छ ।

दाङमा अहिले १५ हजार गोला मौरीका घार रहेका छन् भने झण्डै ५ हजार घार मौरी बाहिरका जिल्लाबाट चराउन ल्याउने गरिएको महासंघका बरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो ।

दाङ जिल्लामा कात्तिक र मंसिर महिनामा तोरी फुल्ने र तोरीको रसको मह औषधिको रुपमा प्रयोग हुने भएका कारण माग पनि बढी हुने मौरी पालक किसानहरु बताउँछन् । अहिले दाङका अधिकांश तोरीबारीमा सेता डब्बाहरु लाइन मिलाएर राखिएका छन् ।

ती सबै चराउनका लागि राखिएका मौरीका घार हुन् । दाङमा एकजना किसानले तीन सय घारसम्म मौरी पालेका छन् । पाल्न धेरै झण्झटिलो नहुने र राम्रै व्यापार हुने भएपछि व्यवसायीक किसानहरु मौरी पालनतर्फ आकर्षित भएको माहुरी पालक महासंघको भनाई छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया