ए डिभिजन लिगमा थ्रीस्टारको दोस्रो शानदार जित, 'कमब्याक' भएका बिक्रमले हाने एक गाेल

 मंसिर २, २०७५ आइतबार १८:५५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कप्तान बिक्रम लामाको कमब्याक शानदार बनाउँदै शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारले लगातार दोस्रो जित निकालेको छ । आइतबार थ्रीस्टारले ब्रिगेड ब्वाइजलाई पाँच एक गोलले हरायो ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा थ्रीस्टारले आक्रामक फुटबल खेल्दै दसौं मिनेटमा नै अग्रता बनाएको थियो । ब्रिगेड ब्वाइजका दीपेन सिंहले डिबक्सभित्र थ्रीस्टारका निराजन खड्कालाई लडाएपछि पाएको पेनाल्टीमा रजिन धिमालले गोल गरेका थिए । 

पहिलो हाफमा थ्रीस्टारले एक शून्यको अग्रता बनायो । ३० औं मिनेटमा थ्रीस्टारले अर्को गोलको अवसर पाए पनि सदुपयोग गर्न सकेको थिएन । पहिलो हाफमा एक गोलको अग्रता बनाएको थ्रीस्टारले दोस्रो हाफमा चार गोल थप्दा एक गोल खायो ।

राष्ट्रिय टोलीका उदयमान स्ट्राइकर सुनील बलले ५१ औं मिनेटमा गरेको गोलले थ्रीस्टारको अग्रता २–० बनायो । तर ७५ औं मिनेटमा ब्रिगेड ब्वाइजका राजन तिवारीले गोल गरी अन्तर दुई एकमा झारे ।

त्यसपछिको १५ मिनेटमा थ्रीस्टारले तीन गोल थप्यो । ८४ औं मिनेटमा रञ्जन विष्ट, ८९ औं मिनेटमा निराजन खड्का र खेलको अन्तिम मिनेटमा ८ महिनापछि मैदानमा फर्किएका थ्रीस्टारका कप्तान बिक्रम लामाले गोल गरे ।

बुढा सुब्बा गोल्डकपका क्रममा खुट्टा भाँच्चिएर आराममा रहेका बिक्रम चोटमुक्त भएपछि मैदान फर्किएका छन् । दुई खेलबाट ६ अंक बनाएको थ्रीस्टार लिगको शीर्ष स्थानमा छ । समान खेलबाट समान अंक भए पनि मनाङ मस्र्याङदी दोस्रो स्थानमा छ ।
 
आइतबारै भएको अर्को खेलमा विभागीय टिम नेपाल पुलिस क्लब मच्छिन्द्रसँग गोलरहित बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आक्रामक फुटबल खेलेको पुलिसले मछिन्द्रविरुद्ध गोल गर्न भने सकेन ।

पहिलो हाफमा पुलिसले तीन वटा राम्रो मौका पाए पनि मच्छिन्द्रका गोल कीपर दीप कार्की बाधक बने । खेलको दोस्रो हाफमा पनि पुलिसले आफ्ना आक्रमक रणनीतिलाई कायमै राखेको थियो तर पनि उसका हरप्रयासलाई मच्छिन्द्रले विफल पार्यो ।

जारी प्रतियोगितामा पुलिसको पहिलो बराबरी हो भने मच्छिन्द्रको दोस्रो बराबरी हो । बराबरीपछि पुलिसको दुई खेलबाट चार अंक भएको छ भने मच्छिन्द्रको दुई खेलबाट दुई अंक भएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया