गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड, १४ लाखको  क्षति

 मंसिर २, २०७५ आइतबार १९:१३:३६ | नेत्र शाही
unn.prixa.net

जुम्ला – गुठीचौर गाउँपालिकामा नचिनेका मानिसको समूहले गुठीचौर गाउँपालिकामा तोडफोड गर्दा लाखौं रुपैयाँको क्षति भएको छ ।

शनिबार राति जुम्ला गुठीचौर गाउँपालिकाको कार्यालयमा नचिनेको मानिसको समूहले तोडफोड गरी कम्प्युटर, सीसी क्यामरासहित इलेक्टोनिक सामग्रीहरु नष्ट गरेका छन् ।

डिजिटल गाउँपालिको रुपमा लाखौंका इलेक्ट्रोनिक सामग्री नष्ट भएको तथा गाउँसभाको माइनट समेत नभेटिएको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सीसी क्यामरा, डिजिटल हाजिरी, इन्टरनेट राउटर, ७ वटा प्रिन्टर ५ वटा कम्युटर र ल्यापटपलगायतका सामग्रीहरुमा क्षति पुगेको छ । उहाँका अनुसार गाउँपालिका आगजनी गर्न प्रयास गरिएको तर सफल नभएको देखिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत शर्माका अनुसार कागजहरु केही जलाइएको भेटिएको छ । यसैगरी गाउँपालिकामा जडान गरिएको सीसी क्यामरा चुडेर फालिएको छ । झण्डै साढे १४ लाख मूल्य बराबरको समान क्षति भएको प्रहरी नायव उपरीक्षक सीताराम रिजालले बताउनुभयो ।

यसैगरी यहाँको चन्दननाथ नगरपालिकाको जीप नचिनेका मानिसको समूहले जलाएका छन् । चन्दननाथ नगरपालिकाको प्राङ्गणको स्टेण्डमा राखिएको क १ झ १ नम्बरको गाडी शनिबार राति १ बजे जलाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया