मुटु खान खोजेको भन्दै ६७ वर्षीया वृद्धमाथि बोक्सीको आरोपमा कुटपिट

 मंसिर २, २०७५ आइतबार १९:३४:१७ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – बोक्सी मन्त्र गरेर मुटु खाएको आरोप लगाएर ६७ वर्षीया एकल वृद्ध सेती मगरलाई सिद्धलेक गाउँपालिका वडा नम्बर ४ गौथलेमा कुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।

नेपाली सेनाको पूर्वी पृतना राज दलगणमा कार्यरत ३५ वर्षका धनबहादुर थापाले वृद्धमाथि बोक्सीको आरोपमा कुटपिट गरेका हुन् । उनले गाउँमा भएका अरु झाँक्रीहरुलाई समेत जम्मा पारेर बोक्सी हो भन्न लगाएर वृद्धमाथि कुटपिट गर्दा गरेको पीडित परिवारले बताएका छन् ।

बोक्सी आरोपमा ६७ वर्षीया एकल महिलालाई मानसिक तथा शारीरक यातना दिने चार जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको छ । धनबहादुरसहित ४५ वर्षका हर्कबहादुर पुलामी, ६३ वर्षका खोलबहादुर पुलामी र ५५ वर्षका थमबहादुर मगरले महिलालाई कात्तिक २८ गते साँझ ७ बजे बोक्सी आरोपमा कुटपिट गरेको प्रहरीले जनाएको छ ।

त्यसपछि मलमूत्र खुवाउन समेत ठिक पारिएको थियो । तिहार मनाउन घर बिदामा आएका मगरले आफूलाई मुटु दुखेको र वृद्धले बोक्सी बनेर मुटु खान खोजेको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । गाउँमा झारफुक गरी हिँड्ने अरु तीन जनालाई बोलाएर थापाले बोक्सी हो भन्न लगाई कुटपिट गर्दै मलमूत्र समेत खुवाउन खोजेको पीडित परिवारले जनाएको छ ।

आरोपित चारजनालाई प्रहरीले कात्तिक २९ गते पक्राउ गरेको छ । उनीहरुविरुद्ध बोक्सी आरोपका कुटपिट गरेको मुद्दा प्रहरीले कात्तिक ३० गते दर्ता गरी जिल्ला अदालतबाट आरोपितहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति समेत लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो ।

कुटपिटबाट गम्भीर घाइते भएकी वृद्धालाई जिल्ला अस्पताल धादिङमा प्राथमिक उपचार पछि काठमाडौंको स्टार अस्पतालमा भर्ना गरिएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया