चार वर्षअघि मोदीले दिएको चन्दन सोमबारदेखि पशुपतिनाथमा चढाइने

 मंसिर २, २०७५ आइतबार १९:५०:४४ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिएको श्रीखण्ड चन्दन हरि बोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ ।

वि.स. २०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि भारतीय प्रधानमन्त्री मोदीले दुई हजार ५०० किलोग्राम श्रीखण्ड चन्दन अर्पण गर्नुभएको थियो । पशुपतिनाथ र वासुकीनाथ मन्दिरलाई श्रीखण्ड चन्दन चढाएपछि सोमबारदेखि नै भक्तजनलाई पनि मोदीले नै अर्पण गर्नुभएको चन्दन वितरण गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।

सोमबारदेखि भित्र र बाहिर एकै किसिमको चन्दन वितरण गरिने पनि उहाँले बताउनुभयो । यसअघि भित्र र बाहिर फरकफरक चन्दन वितरण भएको गुनासो भक्तजनबाट आउने गरेको थियो । वर्षमा २ सय ५० किलो चन्दन भक्तजनलाई वितरण गर्ने कोषले जनाएको छ । वर्षभरका विशेष पर्व एवं मेलामा १५० किलो चन्दन लाग्छ ।

पशुपतिनाथ मन्दिरमा चढाउन अहिले गुठी संस्थान र कौशीतोषाखानाले अढाई÷अढाई किलो गरी मासिक पाँच किलो चन्दन कोषलाई दिने गरेको सदस्य सचिव ढकालले सुनाउनुभयो । त्यसले नपुग्ने भएकाले महिनामा एक किलो मोदीले दिनुभएको चन्दनबाट पशुपतिनाथ मन्दिरलाई थपिनेछ । बाह्र किलो चन्दन पशुपतिनाथलाई वार्षिक रुपमा थपिनेछ ।

वासुकीनाथलाई वार्षिक ६ किलो गरी ४ सय १८ किलो चन्दन वर्षमा खर्च हुनेछ । यो चन्दन ६ वर्षसम्मलाई पुग्ने जनाइएको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया