लुक्लाका पर्यटकले मन्थलीको ब्यवसाय फस्टायो

 मंसिर ३, २०७५ सोमबार ७:११:५८ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – आज भोलि मन्थलीमा बाह्य पर्यटकहरुको चाप निकै बढेको छ । पर्यटकहरुको चाप बढेसँगै केही महिनाअघिसम्म सुनसान रहेका मन्थलीका केही होटलहरु यतिखेर खचाखच भरिएका छन् । रामेछापको विमानस्थल सञ्चालनमा आएपछि यो क्षेत्रमा पर्यटकको संख्या ह्वात्तै बढेको हो । 

रामेछापको विमानस्थल प्रयोग गर्दै सोलुको लुक्का जाने विदेशी पर्यटकहरु बढेपछि सदरमुकाम मन्थलीको होटल व्यवसाय फस्टाएको हो । काठमाडौंबाट सवारी साधनमा रामेछाप आउने पर्यटकहरु ३ वटा विमान कम्पनीहरू तारा एयर, समिट एयर र सीता एयरबाट सगरमाथा आधार शिविरतर्फ आउजाउ गर्ने पर्यटक ओसार्न थालेपछि रामेछापको सुनसान रहेको विमानस्थल अहिले व्यस्त बन्दै गइरहेको छ । पर्यटकको आगमनसँगै सदरमुकाममा रहेको होटल तथा पसल व्यवसाय ६० प्रतिशतले बृद्धि भएको स्थानीय राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

सोलुको लुक्ला विमानस्थलमा छिनछिनमै मौसममा खराबी आउने हुँदा त्यसतर्फ हिँडेका पर्यटकहरु सदरमुकाम मन्थलीमा नै बस्ने गर्छन् । मन्थली विमान स्थलबाट दैनिक ५ देखि २४ वटासम्म उडान हुने गरेका छन् । यति धेरै उडान यस अघि हुने गरेको थिएन । नियमित धेरै उडान हुँदा मन्थली विमान स्थलबाट दैनिक झण्डै ४ सयको हाराहारीमा पर्यटकहरु उड्ने गरेको नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख केदारप्रसाद सत्यालले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो ‘अहिले पर्यटकहरु घुम्ने सिजन सुरु भएसँगै रामेछापमा आउने हवाइजहाजहरुको संख्या निक्कै बृद्धि भएको छ । कुनै दिन ५ देखि ७ फ्लाइटमात्र हुन्छ भने मौसम सफा हुँदा दैनिक २४ वटा उडानसमेत हुने गरेका छन् । यति धेरै उडान हुँदा बिहानको खाना खानेसमेत फूर्सद नहुने प्रमुख सत्यालले बताउनुभयो ।

मन्थलीबाट तीनवटा वायुसेवा कम्पनीहरूले उडान गरे पनि सीता र समिट एयरको सम्पर्क कार्यालय नहुँदा पर्यटकहरुलाई समस्या पर्दै आएको छ । तीन वायुसेवा कम्पनीले केही कर्मचारी र लोडरहरू काठमाडौंबाट झिकाएर  अस्थायी रुपमा काम गर्दै आएका छन् । 

रामेछापमा उडान र अवतरण गर्दा जहाजलाई आकाशमा उडाएर पालो कुर्नु नपर्ने भएकाले चाँडोचाँडो उडान भर्न सहज भएको हो । काठमाडौं विमानस्थल व्यस्त भएकाले चाहे जति उडान गर्न नसक्दा विमान कम्पनीहरूले रामेछापबाट उडान भर्र्न थालेका हुन् । काठमाडौं विमानस्थलबाट एक उडान गर्दा रामेछापबाट तीनपटकसम्म उडान हुने तारा एयर रामेछापका स्टेशन प्रमुख प्रविण सुवेदीले जानकारी दिनुभयो ।   

नेपाल आयल निगमले मन्थलीमा हवाई इन्धनको डिपो सञ्चालन गर्दा उडान र अवतरणका लागि सहज भए पनि निगमका कर्मचारीको बेवास्ताका कारण बारम्बार डिपोमा इन्धन नहुँदा हवाई कम्पनीहरूले चाहे जति उडान भर्न भने नसकेको गुनासो स्थानीय युवराज श्रेष्ठको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया