एकै परिवारका १० जनालाई घाइते बनाएर १० लाख बराबरको लुटपाट

 मंसिर ३, २०७५ सोमबार १०:३८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – एकै परिवारका १० जना सदस्यलाई घाइते बनाई अज्ञात समूहले १० लाख बराबरको धनमाल लुटेका छन् । आइतबार राति करिब १० जनाको समूहमा आएका हतियारधारीले महोत्तरीको सोनमा गाउँपालिका ३ खखनाका श्रीचन्द्र यादवको घरमा आक्रमण गरी लुटपाट गरेका हुन् ।

समूहमा आएका हतियारधारीले बन्दुक लाठी र खुकुरीले प्रहार गरी श्रीचन्द्र यादवको घरका १० जना सदस्यलाई घाइते बनाएका छन् । जसमध्ये ३ जना गम्भीर घाइते भएका छन् । आक्रमणबाट गम्भीर घाइते हुनेहरुमा  लेलीन यादव, संजिव यादव र सुरेन्द्र यादव रहेका छन् ।

यस्तै आक्रमणबाट मुरनदेवी यादव, राजिव कुमार यादव, शान्ति देवी, चित्रलेखा यादव, रिंकु यादव, जितेन्द्र यादव, दिदेन्द्र यादव घाइते भएका छन् । घाइते ९ जनाको महोत्तरीको सम्सीमा रहेको जीवन ज्योती अस्पतालमा उपचार भइरहेको छ भने सुरेन्द्रको उपचार जनकपुर अञ्चल अस्पतालमा समेत सम्भव नभएपछि थप उपचारको लागि विराटनगर रिफर गरिएको जनाएको छ ।

उनीहरुले घरमा रहेको साढे चार लाख नगद, ७ तोला सुन, आठ तोला चाँदी र सातथान मोबाइललगायत १० लाख बराबरको धनमाल लुटेर लगेको घरधनी श्रीचन्द्र यादवले बताउनुभयो । डकैती भएको यादवको घर नजिकै करिब डेढ किलोमिटरको दुरीमा इलाका प्रहरी कार्यालय रघुनाथपुर रहेको छ । उनीहरुले करिब ४५ मिनेटसम्म लुटपाट गरिरहँदा फोन गर्दासमेत प्रहरी समयमा नआएको पीडित यादवले गुनासो गर्नुभयो ।

महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले लुटेराहरुले एकाएक घरमा पसेर सुतेका तीनजनालाई भाटाले हिर्काएर घाइते बनाएको र अन्य सदस्यहरुलाई कुटपीट गरेको बताउनुभयो । घटनाबारे अनुसन्धान भैरहेको र आक्रमणकारीको खोजी भैरहेको उहाँले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया