घोराहीमा हुने भयो एक वर्षभित्रमै फोहोरबाट ग्यास उत्पादन

 मंसिर ३, २०७५ सोमबार १४:८:१४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास उत्पादनका लागि निजी कम्पनीलाई जिम्मा दिएको छ । 

एक वर्षभित्रमै ग्यास उत्पादन गर्ने गरी घोराही उपमहानगरपालिकाले नेपाल उर्जा विकास कम्पनी प्रालिलाई २० वर्षसम्मका लागि जिम्मा दिएको हो । दुई वर्ष लामो गृहकार्यपछि घोराही उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र ललितपुर र नेपाल उर्जा विकास कम्पनी प्रालि काठमाडौंबीच सोमबार त्रिपक्षीय सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार २० करोड रुपैयाँको लागतमा ग्यास उद्योग स्थापना हुनेछ ।  उद्योगमा ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैंकको लगानी रहेको छ । घोराही उपमहानगरपालिका –१६, करौटी डाँडामा रहेको ल्याण्डफिल साइटमै ग्यास उद्योग स्थापना हुने छ । 

अब छिट्टै नै निर्माणको प्रक्रिया थाल्ने र १४ महिनापछि ग्यास उत्पादन गर्नेे कम्पनीले जनाएको छ । कम्पनीले घोराही उपमहानगरपालिका क्षेत्रबाट उत्पादन भएका कुहिने फोहोरहरुबाट दैनिक १ हजार ३ सय किलो ग्यास निकाल्ने र ६ टन प्राङगारिक मल उत्पादन गर्ने जनाएको छ । उत्पादन थालेको ५ वर्षसम्म घोराही उपमहानगरपालिकाले फोहोर संकलन, ढुवानी गरिने र २० वर्षपछि कम्पनीले चालु अवस्थामा घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको छ । 

त्यसैगरी उत्पादनपश्चात कूल उत्पादनको एक प्रतिशत रोयल्टी रकम नगरलाई बुझाउनु पर्ने छ भने ५ वर्षपछि आवश्यक छलफलका आधारमा निर्धारण गर्ने सम्झौता भएको छ । तत्कालीन घोराही नगरपालिकाले झण्डै ३ वर्ष पहिलेदेखि फोहोरबाट ग्यास तथा मल उत्पादन गर्ने गरी निजी कम्पनीसँगको समन्वयमा प्रक्रिया थालेको थियो ।

उपमहानगरका तर्फबाट प्रमुख नरुलाल चौधरी, ग्यास उत्पादन गर्ने निजी कम्पनीका तर्फबाट नेपाल उर्जा विकास कम्पनी प्रालिका निर्देशक श्रीराम अधिकारी र वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रका तर्फबाट कार्यक्रम व्यवस्थापक प्रकाश आर्यालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया