किन चलेनन् नेपाली चलचित्र ‘दैलो’, ‘गुनगुन’ र ‘अनुग्रह’ ?

 मंसिर ३, २०७५ सोमबार १६:३८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – फ्राइडे रिलिजअन्तर्गत यो साता एकसाथ तीनवटा सिनेमा गुनगुन, दैलो र अनुग्रह प्रदर्शनमा आए । तर तीनवटै सिनेमाले कमजोर कारोबार गरेका छन् ।

यो साता प्रदर्शनमा आएका तीनवटै सिनेमाले प्रचारप्रसारलाई त्यति महत्व दिएनन् । यही कारण पनि हुनसक्छ प्रदर्शनमा आएका यी सिनेमाहरुको बारेमा दर्शकलाई खासै जानकारी भएन ।

प्रचारप्रसारबिना नै प्रदर्शनमा आएका यी तीन सिनेमा कारोबारमा पनिअसफल रहेका छन् ।

सिनेमा गुनगुन असफल भएर हलबाट उतारिएपछि निर्माता र हलवालाबीच विवादसमेत भएको छ । नायिका सञ्चिता लुइटेल र नायक सुभाष मेचे अभिनित चलचित्र ‘गुनगुन’ हटाइएपछि अहिले यसका निर्माता र काठमाडौंको अष्टनारायण हलका मालिकबीच आरोप–प्रत्यारोप चल्न थालेको छ । प्रदर्शनमा आएको पहिलो दिन नै सिनेमा हलबाट उतारिएपछि यसका निर्देशक पुकार भट्टराईले अष्टनारायण हललाई कारबाही गर्न माग गरेका छन् ।

उनले  सिनेमाले राम्रो कमाई गर्ने शनिबारको दिन नै हलमा सिनेमा लाग्न नपाएको भन्दै  हललाई कारबाही गर्न र क्षतिपूर्ति भराउन अपील गरेका छन् । यसरी निर्देशकले आफ्नो हललाई कारबाही गर्न माग गरेपछि अष्टनारायणका सञ्चालकले विज्ञप्ति निकाल्दै यसको खण्डन गरेका छन् । कात्तिक ३० गते रिलिज भएको सिनेमाले  दर्शक नै नभएकाले शनिबारदेखि हलबाट हटाइएको सञ्चालकले बताएका छन् ।

अष्टनारायण हलका सञ्चालकमध्येका एक सोहित मानन्धरले शुक्रबार बिहानी शोमा दर्शक नभएर शो बन्द भएको, साढे ११ बजे १२ जना र साढे २ बजे २६ जना मात्र दर्शक भएको बताएका छन् । २५ प्रतिशतभन्दा कम अकुपेन्सी भएपछि चलचित्र हलबाट उतार्न पाइने सम्झौताअनुसार हलबाट उतारिएको मानन्धरले उल्लेख गरेका छन् ।

उता दसैँको घटस्थापनाका दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ ले भने ४० औँ दिनमापनिआफ्नो कारोबार कायम राखेको छ । यो सिनेमाले नेपालमा मात्रै नभएर अमेरिकामा पनि सबैभन्दा धेरै पटक प्रदर्शन हुने सिनेमाको रेकर्ड समेत कायम गरिसकेको छ । त्यस्तै अस्ट्रेलियामा पनि सोमबार १९ औँ पटक प्रदर्शन भएको छ ।

त्यस्तै कात्तिक १६ गते देखि प्रदर्शनमा आएको सिनेमा चङगा चेटले पनि दिनप्रतिदिन दर्शकको साथ पाइरहेको छ ।  यो सिनेमालाई माउथ पब्लिसिटीले  कारोबारमा सघाएको निर्माण पक्षले जनाएको छ । 

सिनेमाले सफलता पाएको भन्दै मंगलबार मात्रै  निर्माण पक्षले केकसमेत काटेको थियो ।

–उज्यालाे र गफगाफकाे सहकार्यमा


 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया