थापाको हत्यारा सार्वजनिक गर्न माग गर्दै कैलाली बन्दको घोषणा

 मंसिर ३, २०७५ सोमबार १७:१४:२९ | निर्मला खडायत
unn.prixa.net

कैलाली – धनगढीको उत्तरबेहडीका युवक विजय थापाको हत्यारा सार्वजनिक गर्न माग गर्दै मंगलबार कैलाली बन्दको घोषणा गरिएको छ । 

हत्या प्रकरणमा पीडितले दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै भोलि बिहान ७ बजे देखि कैलाली बन्दको घोषणा गरेका हुन् । प्रहरीले अनुसन्धानमा लापर्वाही गरेको भन्दै विजय थापा न्यायिक संघर्ष समितिले बन्दको घोषणा गरेका हुन् ।

थापा न्यायिक संघर्ष समितिका देवराज जोशीले दोषीलाई सार्वजनिक नगरुन्जेलसम्म आफूहरुको आन्दोलन र आमहड्तालको कार्यक्रम जारी रहने बताउनुभयो । प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रदेश प्रमुखको कार्यालय नजिकै धनगढी उप–महानगरपालिका वडा नम्बर –४, नाष्ट कलेज अगाडि स्थानीय युवा विजय थापाको हत्यामा संलग्नलाई उम्काउन खोजिएको उनीहरुको आरोप छ । 

विभिन्न कारण देखाएर घटनालाई मोड्ने प्रयास भइरहेको भन्दै आन्दोलनको घोषणा गरेको संघर्ष समितिले जनाएको छ । हत्यारा कठघरामा भएको भन्दै मृतककी आमा सीता थापाले प्रहरीले चाँडोभन्दा चाँडो हत्यारालाई कारबाही हुनुपर्ने बताउनुभयो । उहाँले प्रहरीलाई विभिन्न प्रलोभनमा देखाएर घटना मोड्ने काम भैरहेको आरोप लागउनुभयो । 

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले दोषी जो भए पनि कारबाही गरिने बताउनुभयो । उहाँले प्रहरी अहिले अनुसन्धानको प्रारम्भमै भएकोले सेटीलाई दोषी भनिहाल्न नमिल्ने बताउनुभयो । उहान्ले पोष्टमार्टमको रिपोर्ट आइसकेको र त्यसका आधारमा मृतकको हत्या भएको प्रष्ट हुने बताउनुभयो । 

दोषीलाई सार्वजनिक गर्न माग गर्दै चौराहदेखि जिल्ला प्रशासन कार्यालयसम्म पीडित परिरवारसहितको न्यायिक संघर्ष समितिले प्रदर्शन गरेका थिए । 

शुक्रबार राति ९ बजे धनगढी उपमहानगरपालिका–४, प्रदेश प्रमुखको कार्यालय नजिकै स्थानीय विजय थापाको हत्या भएको थियो । हत्या गरेर घिसार्दै लगिरहेको आशिष सेटीलाई प्रहरीले पक्राउ गरेको थियो । घटनास्थलबाटै पक्राउ परेका सेटीलाई दोषीका रुपमा सार्वजनिक नगरिएको र घटनालाई प्रहरीले बङ्ग्याउने कोसिस गरिरहेको भन्दै न्यायिक संमितिले दबाब दिन थालेको छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया