इलाममा बिपी कोइरालाको शालिक अनावरण

 मंसिर ३, २०७५ सोमबार १९:२८:५२ | सुजता सुनुवार
unn.prixa.net

इलाम – पूर्व प्रधानमन्त्री बिपी कोइरालाको शालिक इलाममा एक कार्यक्रमकाबीच अनावरण गरिएको छ ।

नेपाली कांग्रेस माई नगरपालिकाको आयोजनामा जिल्लाको माई नगरपालिकामा रहेको दानाबारीमा कोइरालाको शालिक स्थापना गरी सोमबार अनावरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारकै कारण संघीयता धरापमा परेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेश सरकारलाई अधिकार नदिई प्रधानमन्त्री आफैँले सबै अधिकार लिन खोज्नुले संघीयता धरापमा पार्न सरकार आफैं लागिपरेको देखिएको छ । स्थानीय र प्रदेश सरकारलाई संघीय सरकारले उचित परिचालन गर्न सकेन’, कोइरालाले भन्नुभयो, ‘संविधानको मर्म अनुसार अधिकार बाँडफाँडमा चल्न नसक्नुले सरकार आफैँले संघीयताको विश्वास नगरेको प्रष्ट हुन्छ ।’

शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसक्नु, दण्डहिनताको अन्त्य नहुनु, सुशासनको बाटोमा सरकार हिँड्न नसक्नुले देश असफलतातर्फ उन्मुख भएको उहाँको भनाई थियो । सरकारले समृद्धिका ठूला–ठूला नारा घन्काउने तर काम भने नगरेको आरोप लगाउँदै कोइरालाले नागरिकले सरकारको दिनगन्ती सुरु गरिसकेको दाबी समेत गर्नुभयो  ।

‘दुई तिहाईको सरकारले भाषणबाजी बाहेक केही गर्न सकेन । सुशासन कायम गर्न, महंगी नियन्त्रण गर्न र भ्रष्टाचारीलाई कारबाही गर्न चुक्नुले सरकारको कार्यशैलीप्रति नागरिक निराश छन्’, कोइरालाले भन्नुभयो ‘नागरिक यो सरकारको विकल्प खोज्न आतुर छन् ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजता परियार, प्रदेश १ का मुख्य सचेतक केदार कार्की, पूर्व सांसद केशव थापा, इलाम सभापति हिमालय कर्माचार्य, नेपाल शिक्षक संघ प्रदेश १ अध्यक्ष पूर्णप्रसाद गौतमलगायतले मन्तव्य राख्दै सरकारका राम्रा पक्षलाई समर्थन र नराम्रा कामलाई विरोध गर्न नागरिकलाई आग्रह गरेका थिए ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया