गर्मीमा सबैलाई घमौरा आउँछ, आत्तिन पर्दैन – डा. सविना भट्टराई

 जेठ २८, २०७५ सोमबार १२:१५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

गर्मीमा अरु धेरै रोगसँगै छालामा घमौरा पनि देखिन्छ । घमौरा कस्तो खालको संक्रमण हो र यसबाट बच्न के गर्नुपर्छ भनेर साथी विना न्यौपानेले काठमाडौं मेडिकल कलेजका प्राध्यापक तथा छालारोग विशेषज्ञ डाक्टर सविना भट्टराईसँग कुराकानी गर्नु भएको छ ।

घमौरा कस्तो खालको संक्रमण हो ?

घमौरा पसिनाको ग्रन्थीहरुबाट आउने एक किसिमको संक्रमण हो । पसिनाको ग्रन्थीका प्वालहरु शरीरमा सबैतिर सिधा–सिधा भएर जान्छन् । र केही गरी कुनै बेला पसिनाको प्वालहरु बन्द भयो भने शरीरमा घमौरा देखिने हो । यो सबै उमेरका मानिसलाई हुन सक्छ ।

गर्मीमा आउने घमौरा ३ प्रकारका हुन्छन् । एउटा मिलिर्याक्टिसोनिया भन्छ, जुन ज्वरो आउने बित्तिकै शरीरमा एकदम धेरै उतार चढाब आयो, शरीर धेरै तातो भयो भने आउने घमौरा हुन्छ । पानीको फोका जस्तो मसिनो मसिनो झिलझिल भएको एउटा प्रकार हुन्छ ।

अर्र्को एकदम घोच्ने प्रकारको, अहिले हामीले जुन घमौरा भनेर चिनेका छौं । रातो रातो थोप्लो भएकोे । र दोहोरिएर आइरहने अलि ठूलो खालको हुन्छ, त्यसलाई प्रोफण्डा भन्छ ।

घमौरा के कारणले आउँछ ?

गर्मीकै कारणले हो । कसैको ज्यान अलि धेरै तातो हुन्छ भने कसैको यो मौसममा पनि चिसो हुन्छ । त्यसैले शरीर अनुसार घमौरा आउने हुन्छ । गर्मी धेरै हुनेलाई खलखली पसिना आइरहेको हुन्छ र यो पसिना आउने क्रम राम्रो हो । यसले शरीरको तापक्रमलाई मिलाएर राखेको हुन्छ ।  तर केही गरी प्वालहरु बन्द भयो पसिना आउन पाएन भने घमौरा निस्कने हो ।

चकचक धेरै गर्ने बच्चाहरुमा यस्तो घमौरा हुन्छ  । एउटा रोचक प्रसंग के छ भने  आमालाई जाडो लाग्छ भने बच्चालाई पनि धेरै लुगा लगाई दिएको हुन्छ । जबकी बच्चा गर्मीले लपक्कै भिजिसकेको हुन्छ । बच्चालाई चिसो लाग्छ भनेर लुगा धेरै  लगाइदिन्छौं । अर्को आमालाई एकदम गर्मी लाग्छ भने बच्चालाई लगाइदिने लुगा पनि पातलो हुन्छ ।

गर्मीमा धेरै लुगा लगाइदियो भने प्वालहरु त्यति धेरै विकास हुन पाएको हुँदैन । त्यही भएर बच्चालाई धेरै घमौरा आउने हो । अनि जाडो महिनामा बुढाबुढीमा दमको रोग छ भनेर धेरै लुगा लगाएर हिँड्दा पसिना आउने प्वाल बन्द भएर धेरै  घमौरा आउने हो ।

घमौरा आफै सन्चो हुन्छ कि कुनै निश्चित समयसम्म रहन्छ ?

जब शरीरको तापक्रम धेरै बढ्छ, त्यसलाई कम गर्नको लागि पसिना आउँछ । यो एउटा प्राकृतिक प्रकृया हो । तर त्यसैको लागि कहि कतै अबरोध भयो भने घमौरा देखिन्छ । पसिना आएपछि त तुरुन्तै आउँछ ।

घमौराको लागि केही गर्नु पर्दैन । हामीले घमौरा आयो भने चिसो पानीले पुच्छ्ने, पाउडर लगाउने र घमौरा आएको ठाउँलाई सुख्खा बनाएर खुला राख्दा सञ्चो हुन्छ । चिलायो भने नचिलाउने औषधी पनि पाईन्छ र लगाउने मलम पाईन्छ । त्यसमा केहीगरी ब्याक्टेरिया अथवा किराको संक्रमण भयो भने घमौरा पाक्छ । अहिले आँपको सिजन रहेको छ । बजारमा धेरै आँप आउने गरेको छ । यदि आँप खाएर गर्मी धेरै भयो भने घमौरा पाक्छ । त्यो भयो भने उपचार गर्नै पर्छ । यो बच्चामा हुने गरेको छ, किनकी बच्चामा रोगसँग लड्ने क्षमता कम हुन्छ । त्यसैले खानेकुरामा पनि ध्यान पुर्‍याउनु पर्छ ।

घरमा नै बसेर घमौरा हो कि अरु रोग हो भनेर छुट्याउन सकिंदैन ?

त्यो सम्भब छैन । घरमा नै बसेर कुन घमौरा कुन अरुरोग भनेर छुट्याउन गाह्रो हुन्छ । सबै  एउटै हुन्छ त्यसैले विशेषज्ञलाई देखाउनै पर्छ । घमौरालाई त्यस्तो धेरै उपचार गर्नु पर्दैन । तर औषधिको रियाक्सन हो भने त अवस्था हेरेर बिरामीलाई भर्ना पनि गर्नुपर्ने हुन सक्छ । दादुरा हो भने उपचार गर्नु पर्छ ।

घमौरा एक पटक आयो सन्चो भयो अनि फेरि दाहोरिने सम्भावना हुन्छ कि हुन्न ?

एकदमै हुन्छ । किनभने हाम्रो शरीरमा पसिना आउनेक्रम बढेसँगै निरन्तर नै हुन्छ । त्यसैले घमौरा आउन नदिनको लागि खुला लुगा लगाउने, आफ्नो शरीरको तापक्रम बढ्न नदिनको लागि चिसो बनाउनुपर्छ । गुम्सेर बस्न हुन्न । चिसो पानी लगाउने, पाउडर लगाउने, कटनको लुगा लगाउने गर्नु पर्छ ।

यस्तै मनतातो पानी अथवा चिसै पानीले पनि पुछेर पंखाको लगाएर बस्यो भने  पनि धेरै फाईदा हुन्छ ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया