नेपालमै पहिलोपटक ह्याकर सम्मेलन हुँदै, लाइभ ह्याकिङ हुने

 मंसिर ४, २०७५ मंगलबार ११:७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालमा पहिलो पटक यही मंसिर ६ र ७ गते अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुँदैछ । काठमाडौंको होटल अन्नपूर्णमा आयोजना हुने सम्मेलन विश्वमै प्रसिद्ध ‘ब्ल्याक ह्याट र डीईएफ कोन’को नेपालको समकालीन सम्मेलन हो । सम्मेलन सूचना प्रविधिसँग सम्बन्धित व्यावसायिक संस्था एसआईसीटी नेपाल र साइबर सुरक्षामा काम गर्दै आएको थे्रट निक्सले आयोजना गरेको हो । सम्मेलनमा क्यान महासंघ, इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, एनपिक्सजस्ता संस्थाका सहकार्य रहेको छ ।

पछिल्लो समय व्यक्तिगत तथा पब्लिक डोमेन, ठूला किसिमका फाइनान्सियल अट्याकजस्ता साइबर सुरक्षाको चुनौती नेपालले भोग्नु परेको छ । साइबर हमलामा संलग्न व्यक्तिका लागि नेपाल केन्द्रमा परिसकेको छ । साइबर हमलाका तरिका झन् आधुनिक र व्यवस्थित बन्दै गइरहे पनि नेपालले सुरक्षाको लागि त्यो किसिमको तयारी गर्न सकेको छैन । यसका लागि साइबर सुरक्षाको विकास र दक्ष व्यावसायिक जनशक्ति आवश्यक पर्छ । 

साइबर सुरक्षाको परम्परागत मान्यतालाई विस्थापित गर्दै यसमा व्यापक परिवर्तनको उद्देश्यसहित 'थ्रेट कोन' आयोजना गरिएको हो । सम्मेलनमा नेपालले अभ्यास गर्दै आइरहेको साइबर सुरक्षाको अवस्था र त्यसलाई सुधार गर्न सक्ने विषयमा छलफल हुनेछ । 

सम्मेलनमा साइबर सुरक्षामा विश्वव्यापी रुपमै चर्चित अभ्यासकर्ता, निर्माताको सहभागिता रहनेछ । सरकारी निकायलाई साईबर सुरक्षाको बारेमा जानकारी लिन यो उपयोगी साबित हुनेछ । नेपालको साइबर सुरक्षामा क्रियाशील व्यक्ति तथा संस्थाको विकास नै यो सम्मेलनको मुख्य उद्देश्य हो ।

विश्व प्रसिद्ध ह्याकर म्याट सुसि प्रमुख वक्ताको रुपमा रहनु हुनेछ । यसबाहेक साइबर सुरक्षासँग सम्बन्धित अन्तक्र्रिया र प्रस्तुतिसमेत रहने छ । सम्मेलनको आकर्षणको रुपमा लाइभ ह्याकिङसमेत रहनेछ । अमेरिका, रसिया, रोमानिया, भारत, जर्मनी, दुबईबाट विज्ञहरुको सहभागिता रहने सम्मेलनमा गुगल, क्यास्परस्की, बिटडिफेन्डरजस्ता संस्थाका प्रतिनिधिको सहभागिता र प्रस्तुति रहनेछ ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया