अख्तियारको सक्रियतामा बालुवा बोकेका ट्रयाक्टर नियन्त्रणमा

 मंसिर ४, २०७५ मंगलबार १४:७:५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतामा बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य सामाग्री उत्खननमा प्रयोग गरिएका सवारी साधन मङ्गलबार बिहान नियन्त्रणमा लिइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेसहित पुगेको प्रहरी टोलीले राप्ती नदी किनारस्थित बनकट्टी नजिकैबाट झण्डै २० वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

जिल्ला समन्वय समिति बाँकेको मिलेमतोमा राप्ती नदीबाट अवैधरुपमा ढुंगा, गिटी र बालुवाको उत्खनन भइरहेको उजुरी अख्तियारमा परेपछि अख्तियारले सक्रियता देखाएको सूचना अधिकारी निराजन शर्माले जानकारी दिनुभयो ।

अख्तियारले सक्रियता देखाएको भए पनि  कारबाहीका लागि प्रहरीको कार्यक्षेत्रमा पर्ने जानकारी दिँदै सूचना अधिकारी शर्माले अनुसन्धानका क्रममा जिल्ला समन्वय समितिको संलग्नता पाइएमा अख्तियारले भ्रष्टाचारको मुद्दा चलाउने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बालुवा भरिरहेका ट्याक्टर नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँले प्रहरी टोलीलाई व्यक्तिगत जग्गा भएको भन्दै दाबी गरिएकाले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया