समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि आवश्यक नीति बनाउन प्रधानमन्त्रीको निर्देशन

 मंसिर ४, २०७५ मंगलबार १६:२९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि आवश्यक नीति बनाउन मातहतका निकायलाई निर्देशन दिनु भएको छ । 

प्रधानमन्त्री ओलीले जनताले अपेक्षा गरेअनुसार विकास निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै संविधानको परिधिभित्र रहेर आवश्यक नीति निर्माण गर्न नीति अनुसन्धान प्रतिष्ठानलाई निर्देशन दिनु भएको हो । 

सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मंगलबार बसेको प्रतिष्ठानको परिचयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्तरद्वन्द्वमा फसेका नीतिहरुलाई पुनरावलोकन गरेर संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि आवश्यक नीति बनाउन ढिलाई गर्न नहुनेमा पनि जोड दिनुभयो । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी आवश्यक नीति पुनरावलोकन गर्न प्रधानमन्त्रीले प्रतिष्ठानलाई निर्देशन दिनु भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको काममा सरकारले हस्तक्षेप नगर्ने पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले विद्यमान नीति पुनरावलोकन गर्न समाजशास्त्री डा. चैतन्य मिश्रको संयोजकत्वमा विभिन्न क्षेत्रका विज्ञहरु रहेको प्रतिष्ठान गठन गर्नु भएको थियो । 

प्रतिष्ठानको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानले ल्याएको अनुसन्धानको विषयलाई सरकारले आवश्यक्ता अनुसार प्रयोग गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले विकास निर्माणको काम अघि बढन नसक्नुमा  विद्यमान नीति मूल कारण रहेको औँल्याउँदै त्यसलाई सुधार गरेर आवश्यक नीति तय गर्न पनि प्रतिष्ठानसँग आग्रह गर्नुभयो । प्रतिष्ठानलाई सरकारको नीति, निर्माण गर्ने सबै तहलाई संयोजन गरेर अघि बढने कार्यादेशसमेत दिइएको छ ।

प्रधानमन्त्री ओलीले देश विकासको नीति तर्जुमा गर्न अनुसन्धानमूलक र तथ्य ढंगले जानकारी ल्याउने उद्धेश्यले गठन गरिएको प्रतिष्ठानलाई कुनै कोणबाट सरकारले असहयोग नगर्ने स्पष्ट पार्नुभएको छ । ‘प्रतिष्ठानले स्वतन्त्र ढंगले अनुन्धान गरेर ल्याएको प्रतिवेदनमा हस्तक्षेप गर्ने ठाउँ कहाँ हुन्छ र ?’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आवश्यक ठाउँमा राय सुझावसहित सरकारले त्यसलाई ग्रहण गर्छ ।’

सरकारको ‘थिंक टयांक’ को रुपमा रहेको मिश्र नेतृत्वको प्रतिष्ठानका सदस्यहरुमा डा. मिना आचार्य, डा. सुरेन्द्र लाल, डा. राजेन्द्रध्वज जोशी र गणेशमान गुरुङ सदस्य रहनु भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया