कृषिमन्त्री खनालको एक्सन : डीडीसी दूध उत्पादन केन्द्रमा छापा, दुई डेरीमा सिलबन्दी

 जेठ २८, २०७५ सोमबार १३:३६:३७ | उज्यालो सहकर्मी

काठमाडौं – कृषि, भूमि, व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले बालाजुमा रहेको आधुनिक डेरी प्रोडक्ट, शुलभ कृषि डेरी र डीडीसी दूधको उत्पादन केन्द्रमा छापा मार्नु भएको छ । 

गुणस्तरहिन दूध र दूधजन्य बस्तुहरुको बिक्रि वितरण भइरहेको समाचार आइरहेका बेला मन्त्री खनालले सोमबार बिहान बालाजुमा रहेको तीन वटै दूध डेरीको उत्पादन केन्द्रको अनुगमन गर्नु भएको हो ।

अनुगमनका क्रममा आधुनिक डेरी प्रोडक्ट र सुलभ डेरीको पाउडरको गोदाम न्यूनतम मापदण्ड भित्र पनि नरहेको पाइएपछि सील गरिएको छ । कुनै मापदण्ड पूरा नगरेको पाइएपछि दुवै डेरीको पाउडर गोदाम सील गर्नु परेको मन्त्री खनालले बताउनुभयो ।

त्यसैगरी डीडीसी दूधको पनि गुणस्तर परीक्षण गर्ने र मापदण्ड पूरा नगरेको पाइए कडा कारबाही गर्ने मन्त्री खनालको योजना छ । मन्त्री खनालले तीन वटै दूधको ३० वटा स्याम्पल परीक्षणका लागि लगिएको र त्यसमा गुणस्तर नभएको पाइए भोलिबाटै आवश्यक कारबाही प्रक्रिया अघि बढाउने चेतावनी पनि दिनुभयो ।

मन्त्रीसँग पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरुले ३ वटै दूध डेरीका करिब ३० वटा स्याम्पल पिस परीक्षणका लागि लिएका छन । ती दूधको परीक्षण सोमबार नै हुने र गुणस्तरहिन देखिए भोलिबाटै कारबाही प्रक्रिया अघि बढाउने मन्त्री खनालले स्पष्ट पार्नुभयो ।

मन्त्री खनालले नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने गरी खाद्य बस्तु उत्पादन गर्नेमाथि खाद्य सम्प्रभूता ऐन अन्तरगत कडा कारबाही गर्ने पनि चेतावनी दिनुभयो । सरकारले नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने जो कोही पनि कारबाहीको  दायरामा ल्याउने उहाँको भनाई छ । मन्त्री खनालले डेरीहरुमा प्रयोग गरिएको पाउडर परीक्षण गरेपछि मात्रै गोदाममा लगाइएको सील खोलिने उहाँले बताउनुभयो ।

मन्त्री खनालले जनस्वास्थ्यमा खेलबाड गर्ने काम भइरहेको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजारको पनि अनुगमन गर्नु भएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Kiran dangi

    June 11, 2018, 1:52 p.m.

    nice job. keep it up

  •  0 Reply

तपाईको प्रतिक्रिया