जन्ती लिएर उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जनकपुर आउने, भव्य स्वागत गर्ने तयारी

 मंसिर ४, २०७५ मंगलबार १८:०:२० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रत्येक वर्ष जस्तै यो वर्ष रामजानकी विवाह पञ्चमी महोत्सव धुमधामसँग मनाउने तयारी थालिएको छ ।

यसपटक मसिंर २६ गते परेको सीताराम विवाह पञ्चमी महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी समेत सहमागी हुने कार्यक्रम छ । मुख्यमन्त्री योगी अयोध्याबाट साधुसन्तको जन्तीको नेतृत्व गर्दै महोत्सवमा सहभागी हुन जनकपुर आउने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिनुभयो ।

मुख्यमन्त्री योगी आउने भएकाले विशेष धुमधामको साथ यसटपटक सीताराम विवाह पञ्चमी महोत्सव मनाउने तयारी थालिएको जानकी मन्दिरका सह महन्त वैष्णवले बताउनुभयो । सप्ताहव्यापी रुपमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव यस वर्ष मंसिर २१ गतेबाट विधिवत रुपमा शुरु हुँदैछ ।

महोत्सवको पहिलो दिन मंसिर २१ गते जनकपुर नगर दर्शन, दोस्रो दिन मंसिर २२ गते फूलबारी लीला, तेस्रो दिन मंसिर २३ गते धनुष यज्ञ, चौथो दिन मंसिर २४ गते तीलकोत्सव, पाँचौदिन मंसिर २५ गते मटकोर र छैठो दिन मंसिर २६ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।

महोत्सवको अन्तिम दिन मंसिर २७ गते रामकलेवा गरी जन्तीको बिदाई गरेपछि विवाह पञ्चमी महोत्सवको विधिवत समापन हुने गर्दछ । सीताराम विवाह पञ्चमी महोत्सवका मूल समारोह समितिका अध्यक्ष समेत रहनु भएका सह महन्त वैष्णवका अनुसार विवाह पञ्चमी महोत्सवकै मुख्य दिन मंसिर २६ गते उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी जनकपुर आउनु हुनेछ ।

साधुसन्तको जन्तीकासाथ जनकपुर आउने मुख्यमन्त्री योगीले सबैभन्दा पहिला जानकी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ । त्यसपश्चात मुख्यमन्त्री योगीको स्वागतमा प्रदेश २ सरकारले मधेश भवनमा आयोजना गर्ने दिवाभोजमा सरिक हुने उहाँको कार्यक्रम रहेको सह महन्त वैष्णवले जानकारी दिनुभयो ।

प्रदेश २ सरकारको सचिवालय रहेको मधेश भवनमा मुख्यमन्त्री योगीको स्वागतमा साधुसन्त, जन्ती, विशिष्ट व्यक्तित्व र सर्वसाधारणका गरी एक हजार १ जनाको भोज प्रदेश सरकारले आयोजन गर्ने तयारी गर्न लागेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताउनुभयो ।

‘त्यसै बेला मधेश भवनमै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच विशेष भेटवार्ता हुने छ’, मन्त्री यादवले भन्नुभयो, ‘हामी तयारीमा जुटिसकेका छौं । शान्ति सुरक्षा समेत चुस्तदुस्त गर्न र जन्तीको भव्य स्वागत र रहनसहनको प्रदेश सरकारले व्यवस्थापनको काम शुरु गरिसकेको छ ।’

उहाँले विवाह पञ्चमी महोत्सवमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको जनकपुर–जयनगर रेलवे समेत उद्घाट गर्न सक्ने सम्भावना रहेको बताउनुभयो । भोज पश्चात दिउँसो जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रबिघामा हुने सीताराम स्वयंम्बरमा दुवै मुख्यमन्त्री एवं समकक्षी सहभागी हुने कार्यक्रम छ ।

‘जानकी मन्दिरबाट जानकीको डोला र राम मन्दिरबाट रामको डोला बाह्रबिघामा पुगेपछि स्वयंम्बर हुन्छ । त्यही स्वयंम्बर कार्यक्रममा दुवै मुख्यमन्त्री सरिक हुनुहुन्छ’, सहमहन्त वैष्णवले भन्नुभयो, ‘स्वयंम्बर पश्चात दुवै समकक्षीले सम्बोधन गर्नुहुनेछ । र कार्यक्रम समापन पश्चात मुख्यमन्त्री योगी फर्किने कार्यक्रम छ ।’

फाइल तस्बिर

बाह्रबिघा मैदनमा स्वयंम्बर र योगीको सम्बोधनका लागि मञ्च व्यवस्थापनलगायत कामका लागि झण्डै ३५ लाख रुपैयाँ खर्च हुने सह महन्त वैष्णवले जानकारी दिनुभयो । यसपटक मुख्यमन्त्री योगीको आगमन भएकाले महोत्सव व्यवस्थापनमा अढाई करोड रुपैयाँसम्म खर्च हुने उहाँको भनाई छ ।

विवाह पञ्चमी महोत्सव भव्यतापूर्वक मनाउन प्रदेश २ सरकारले यसपटक ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरिसकेको छ । विवाह पञ्चमी महोत्सव धुमधामका साथ मनाउन तयारीका लागि मञ्च व्यवस्थापन, मटकोर, जन्तीको स्वागत, विद्युत व्यवस्थापन, ट्राफिक व्यवस्थापन, शौचालय एवं फोहोर, सरसफाई लगायतको कामका लागि सर्वपक्षीय बैठक बसेर छलफल गरी २४ वटा छुट्ट–छुट्टै समिति समेत गठन भएको महोत्सव मूल समारोह समितिका अध्यक्ष एवं सहमहन्त वैष्णवले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया