पाटन नगरपालिकाले भारतमा रोजगारी गर्न जानेहरुको निःशुल्क बीमा गरिदिने

 मंसिर ४, २०७५ मंगलबार १८:१६:२१ | जयराज अवस्थी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बैतडी – बैतडीको पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकहरुको निःशुल्क रुपमा दुर्घटना बीमा गरिने भएको छ ।

रोजगारीका लागि अन्य देशमा जानेहरुको बीमा गरिने भए पनि भारतमा जाने नागरिकको अहिलेसम्म बीमा गर्ने गरिएको छैन् । भारतमा रोजगारीका सिलसिलामा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बीमा गर्ने तयारी भएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो ।

पहिलो चरणमा एकसय जति नगरपालिकाबाट भारतमा रोजगारी गर्न गएका नागरिकको निःशुल्क दुर्घटना बीमा गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाभित्रका तीनओटा सहकारीमा आवद्ध शेयर सदस्यका घरपरिवारबाट कोही भारत गएको भए उनीहरुको बीमा गरिने नगरप्रमुख चन्दले जानकारी दिनुभयो ।

पाटन नगरपालिका र ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज रुडेस बैतडीको संयुक्त सहकार्यमा बीमा गरिन लागेको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिनुभयो । अहिलेसम्म भारत जाने नागरिकको बीमा गर्ने चलन नभएकाले उतै दुर्घटनामा परेकाहरुलाई समस्या हुने गरेको छ ।

रोजगारीको सिलसिलामा भारतमा दुर्घटनामा परेका नागरिकलाई सजिलोहोस् भन्ने उद्देश्यले बीमा गर्ने योजना अघि ल्याइएको उहाँले बताउनुभयो । यसले रोजगारीका लागि भारत जाने नागरिकलाई पनि सजिलो हुने विश्वास गरिएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया