जाँगरिला 'हेडमास्टर'को कृषि बगैँचा : एउटै बोटमा फल्यो ४ क्वीन्टल ‘एभोकाडो’

 मंसिर ५, २०७५ बुधबार ७:३९:५८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – केही मोटो ज्यान । हँसिलो चेहेरा । नरम व्यवहार । ढल्किँदो उमेर । बढ्दो जोसजाँगर । सबै छक्क पर्छन्, उहाँको कर्मप्रतिको मेहनत र जाँगर दखेर  । सुन्दरबजार नगरपालिका–६, ढाँड फेदीकुना भैरवदेवी टोलका किनबहादुर विकको मुख्य पेशा हो, शिक्षण । उहाँ स्थानीय भैरवदेवी प्राविको प्रधानाध्यापक हुनुहुन्छ ।       

विद्यालय जानु, विद्यालयको प्रशासनिक काम गर्नु, विद्यार्थीलाई पढाउनु उहाँको कर्म हो । तर उहाँ यतिमामात्रै सीमित हुनुहुन्न ।   

शिक्षणसँगै कृषि 

बिहान सबेरै उठ्नु, बाख्रा भैँसीलाई घाँस पानी खुवाउनु, घर अगाडि रहेको सानो कृषि बगैँचामा लगाइएका विभिन्न फलफूलको गोडमेल, सिञ्चाई गर्नु पनि उहाँको दैनिकी भित्र पर्छ । 

बिहानीको समयमा घरअगाडिको बगैँचामा भेटिनुभएका किनबहादुरले हाँस्दै भन्नुभयो, ‘शिक्षण पेशासंगै कृषिमा रम्न पाउँदाको खुशी नै बेग्लै छ ।’

उहाँले शिक्षण, कृषि कर्मका साथै आरन व्यवसायलाई पनि निरन्तरता दिनुभएको छ । घर आडैमा एउटा आरन पनि छ । फूर्सदको समयमा उहाँले आरनमा फलामका विभिन्न सामाग्री बनाउने, अर्चाप्ने कामसमेत गर्दै आउनुभएको छ । यस पेशाबाट पनि उहाँको राम्रो आम्दानीे छ । 

‘कुनै पनि काम सानो ठूलो हुँदैन । कर्म गर्नुपर्छ । श्रम–पसिना बगाउनुपर्छ । मेहनतको कमाई खानुपर्छ’ उहाँ भन्नुहुन्छ । 

पहिले खरबारी, अहिले फलफूल र तरकारी    

उहाँको घरअगाडि २ रोपनी जग्गा छ । जग्गामा ‘एभोकाडो’ अर्थात् घ्यू फल, केरा, अमला, सुपारी, सुन्तला, कटहर, लिचि, आँप, निबुवा, अलैँचीलगायतका बिरुवा हुर्किरहेका छन् । फल दिइरहेका छन् ।

पहिले खर फुलेर जाने पाखो बाँझो जमिनलाई मलजल गरी अहिले उहाँले हरियाली बनाउनुभएको छ । घर अगाडिको सानो बगैँचामा हुर्कदैँ, फल्दै गरेका फलफूल, तरकारी देख्दा उहाँलाई आनन्द लाग्छ ।

‘पहिले खरबारी थियो । खरबारीलाई फाँडेर बारी बनाई फलफूल तथा तरकारी लगाउँदै आएको छु । फलफूल तथा तरकारी बिक्रीबाट राम्रो कमाई हुँदै आएको छ,’ उहाँले भन्नुभयो । उहाँले बाख्रा, भैँसी र हाँससमेत पाल्नुभएको छ । 

एउटै बोटमा फल्यो ४ क्वीन्टल ‘एभोकाडो’   

उहाँको कृषि बगैँचामा एउटा बोट छ, एभोकाडोको  । उहाँका अनुसार गएको ४ वर्षदेखि एभोकाडोको बोटेले फल दिँदै आएको छ । बगैँचामा रहेको एउटै एभोकाडोको बोटमा यस वर्ष ४ क्वीन्टल एभोकाडो फलेको छ । एउटा एभोकाडोको बोट हुर्कदैँ छ । फल दिँदै गरेको एभोकाडोको बोट ठूलो छ । बोटले २०७२ सालबाट उत्पादन दिन थालेको हो ।    

पहिलो वर्ष (२०७२) २ क्वीन्टल, दोश्रो वर्ष (२०७३) ३ क्वीन्टल, तेश्रो वर्ष (२०७४) ३ क्वीन्टल र चौथौ वर्ष (२०७५) मा ४ क्वीन्टल एभोकाडो फलेको उहाँले बताउनुभयो ।

उहाँले आफ्नो बगैँचामा २०६५ सालमा एभोकाडो रोप्नुभएको हो । उहाँले बुरुण्डीबाट ल्याइएको एभोकाडोको बीउ रोपेर बिरुवा हुर्काउनुभएको हो ।

‘माईलो भाई नेपाली सेनामा थियो । बुरुण्डीमा शान्ति सेना गएर नेपाल फर्कदा उसले उतैबाट एभोकाडोको बीउ ल्याएको थियो । त्यही बीउ रोपी हुर्काएको बोट हो यो । अहिले फल दिन थालेको छ,’ फल्दै गरेको एभोकाडोको बोट देखाउँदै उहाँले सुनाउनुभयो ।    

बिक्री हुनै सकस  

सुरुका वर्षमा एभोकाडोबारे थाहा नपाएकाले बिक्री हुनै समस्या हुन्थ्यो । त्यसै खेर जान्थ्यो । बिस्तारै पछिल्ला वर्षमा यसको महत्वबारे मानिसले चासो राख्ने गरेका छन् । बिस्तारै यसको बिक्री हुँदैछ । एभोकाडोका खेतीबाट मनग्य कमाउन सकिने उहाँले सम्भावना देख्नुभएको छ । 

‘एउटै बोटमा यति धेरै फल्छ । उचित बजारको व्यवस्थापन हुन सके यसको खेतीबाट मनग्य कमाउन सकिने सम्भावना मलाई यही एउटा एभोकाडोको बोटले देखाएको छ,’ उहाँले भन्नुभयो । ‘जागिरबाट ‘रिटायर्ड’ भएपछि मैले एभोकाडोको व्यवसायिक खेती गर्ने सोच बनाएको छु,’ उहाँले भन्नुभयो ।

मानिसलाई एभोकाडोको महत्व थाहा नहुँदा उत्पादित एभोकाडोले बजार पाउन नसकेको उहाँको दुःखेसो छ । उहाँले यसवर्ष उत्पादित एभोकोडोको बिक्रीबाट ९० हजार कमाई गर्नुभएको छ । ‘प्रतिकेजी ३ सय रुपैयाँका दरले एभोकाडो बेचेको छु,’ उहाँले भन्नुभयो ।

जानकारहरुका अनुसार एभोकाडोमा धेरै भिटामिन र मिनरल पाइन्छन् । मानव शरीरका लागि आवश्यक पर्ने विभिन्न पोषक तत्वहरु घ्यू फलबाट प्राप्त गर्न सकिन्छ ।

समयमै नटिपे समस्या 

सुम्रदी सतहबाट २ हजार ५ सय मिटर उचाइसम्म यसको व्यावसायिक रुपमै खेती गर्न सकिन्छ । खेर गएका पाखा, खोला, बगरलगायतका ठाउँमा समेत यसको खेती गरी राम्रो पैसा कमाउन सकिन्छ । एभोकाडो हुर्काएपछि ५० वर्षसम्म फल दिन्छ । 

किनबहादुरका अनुसार एभोकाडोको बिरुवा रोपेको ३ देखि ५ बर्षसम्ममा फल फल्ने गर्छ । चैत– वैशाखमा फूल फुल्ने, भाद्र–असोजमा फल दिन थाल्छ । कार्तिक मसान्तसम्ममा फल टिपिसक्नुपर्छ ।   
 
फल फल्न थालसँगै लोखर्के चराले सताउने उहाँले बताउनुभयो । ‘फलेको फल समयमै टिप्नुपर्छ । यसो गरिएन भने लोखर्के, चराले खाइदिन्छ । अर्को वर्ष बोटमा कम फल लाग्ने हुन्छ । त्यसैले बेलैमा फल टिपिहाल्नुपर्छ’ उहाँले भन्नुभयो ।

उहाँको हर कर्ममा परिवारको पनि उत्तिक्कै साथ सहयोग मिल्ने गरेको छ । परिवारकै साथ, सल्लाहमा अबका दिनमा पनि कृषिलाई अघि बढाउने उहाँको सोच छ ।         
 

अन्तिम अपडेट: चैत २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया