लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा कांग्रेस पार्टी लागेकाे छ : सभापति देउवा

 मंसिर ५, २०७५ बुधबार १४:४४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताउनु भएको छ ।

सभापति देउवाले देशलाई समृद्ध बनाउने अभियानमा सरकारलाई प्रेरित गर्ने काम पनि आफ्नो पार्टीले गरिरहेको दाबी गर्नुभयो । नेपाल भ्रमणमा रहेका डेनिस सांसदहरुसँग बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको भेटवार्तामा पूर्व प्रधानमन्त्री समेत रहनु भएका देउवाले लोकतान्त्रिक पद्धतिलाई सुदृढ बनाउने अभियानमा आफ्नो पार्टी केन्द्रीत रहेको बताउनु भएको भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

मोगेन्स जोनसन नेतृत्वको डेनिसका सांसदहरुको प्रतिनिधिमण्डलले त्यस अवसरमा कांग्रेस नेतृत्वसँग नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक परिस्थितिकाबारेमा पनि चासो व्यक्त गरेको थियो ।

सभापति देउवाले नेपालमा बन्द गरिएको डेनिस दूतावास खोल्न पनि आग्रह गर्नु भएको थियो । सभापतिले दूतावास पुनः खोल्न पनि डेनिस सांसदहरुसँग आग्रह गर्नु भएको पनि सहमहामन्त्री महतले बताउनुभयो । त्यसैगरी सभापति देउवाले नेपालको आर्थिक विकासमा डेनिस सरकारले गर्दै आएको सहयोगप्रति पनि आभार व्यक्त गर्नु भएको थियो ।

डेनिस सांसदहरुसँगको भेटवार्तामा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालासहितका कांग्रेस नेताहरु सहभागी हुनु भएको थियो । भेटमा दुई देशबीचको सम्बन्ध र पार्टीहरुबीचको सम्बन्धका विषयमा पनि छलफल भएको नेपाली कांग्रेसले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया