प्रदेश पाँचको नाम र स्थायी मुकाम जुराउने विशेष समितिको संयोजकमा रोल्पाका पुन

 मंसिर ५, २०७५ बुधबार १४:४९:३२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – प्रदेश नम्बर पाँचको स्थायी राजधानी र नाम सिफारिस गर्न बनेको संसदीय विशेष समितिको संयोजकमा रोल्पाका प्रदेशसभा सदस्य दिपेन्द्रकुमार पुन चयन हुनु भएको छ । 

तीन महिना कार्यकाल दिएर बनाइएको विशेष समितिको म्याद सकिन लागेको दिन बैठक बसेर पुन लाई सर्वसम्मतिबाट संयोजक चयन गरिएको हो । समितिले छलफल पनि नगरेको भन्दै आलोचना भइरहेको बेला पुनलाई संयोजक तोकेर फेरि म्याद थपका लागि सभामुखमार्फत अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । बैठकले कार्यविधि बनाउने जिम्मा पनि संयोजकलाई दिएको छ । अलमलमा रहेको समितिले अब तीव्र गतिमा प्रदेशको नाम र राजधानीको विषयमा छलफल सुरु गर्ने संयोजक पुनले बताउनुभयो ।

तत्कालीन शेरवहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई प्रदेशको अस्थायी मुकाम तोकेको हो । प्रदेशको नाममा धेरै विवाद नरहे पनि स्थायी मुकामको विषय भने पेचिलो बनेको छ । संविधानको धारा २८८ मा प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धित प्रदेशसभाले निर्णय गरेअनुसार हुने भन्ने उल्लेख छ ।

तर बुटवलमा रहेको अस्थायी मुकाम अन्यत्र सार्नका लागि आवश्यक पर्ने दुई तिहाइ बहुमत पुग्ने अवस्था नरहेको समितिका एक जना सदस्यको भनाई छ । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया