बहुवर्षीय आयोजनाहरुको स्रोत सुनिश्चित भए/नभएको विवरण पेश गर्न सरकारलाई अर्थ समितिको निर्देशन

 मंसिर ५, २०७५ बुधबार १८:५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संघीय संसद अन्तरगतको अर्थ समितिले विभिन्न मन्त्रालयका बहुवर्षीय आयोजनाहरुको स्रोत सुनिश्चित भए/नभएको विवरण तत्काल समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले ठेक्का सम्झौता भई अधूरा रहेका बहुवर्षीय योजना कार्यान्वयनका लागि स्रोतको सुनिश्चित गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराएको छ । ठेक्का सम्झौता भई कार्यान्वयनको चरणमा रहेका बहुवर्षीय आयोजनाहरुमा स्रोतको तत्काल व्यवस्था गर्न पनि अर्थ मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

समितिले आवश्यक्ता र औचित्य पुष्टि नहुने आयोजनामा माग गरिएको गैर बजेट स्विकृत नगर्न पनि अर्थ मन्त्रालयलाई कडा निर्देशन दिएको छ । अर्थ मन्त्रालयमा चालू आर्थिक वर्षको सुरुमै गैर बजेटको चाप बढेपछि अर्थ समितिले औचित्य पुष्टि नहुने खालको कुनै पनि आयोजनाका लागि माग गरिएको गैर बजेट स्वीकृत नगर्न सरकारलाई सचेत गराएको हो ।

त्यसैगरी समितिले पूँजीगत खर्चसम्बन्धी कार्य योजना ७ दिनभित्र समितिमा पेश गर्न पनि सम्बन्धित सबै मन्त्रालयलाई निर्देशन गरेको छ । पूँजीगत खर्च हुन नसकिरहेका बेला सरकारले सो सम्बन्धी कार्ययोजना समितिमा पेश गर्न सम्बन्धित मन्त्रालयलाई ताकेता गरेको हो ।

बैठकमा समितिका सदस्यहरुले ठेक्का स्वीकृत गरिएका बहुवर्षीय आयोजनाका लागि बजेटको व्यवस्था नगरेको भन्दै सरकारको आलोचना गरेका थिए । समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले बहुवर्षीय आयोजना चल्ने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

समितिले धेरैजसो सडक आयोजना अलपत्र हुने निष्कर्षसहित बहुवर्षीय आयोजनाहरुमा आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया