दाजुभाईको विवादले धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोलियम पदार्थको हाहाकार

 जेठ २८, २०७५ सोमबार १५:४६:१५ | शैलेन्द्र महतो

धनुषा - दाजुभाईको विवादका कारण धनुषा, महोत्तरी र सिन्धुलीमा जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । 

नेपाल आयल निगम धनुषाको महेन्द्रनगरमा रहेको डिपोबाट तीन दिनदेखि डिजल पेट्रोलको बिलिंग भएको छैन ।

ट्यांकर चालकहरुको भत्ता दिने विषयमा पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुर र पेट्रोलियम ढुवानी संघ जनकपुरबीच  विवाद हुँदा यस्तो अवस्था सृजना भएको हो ।  
पेट्रोल पम्प व्यवसायीहरुले ट्यांकर चालकलाई ढुवानी वापत दिँदै आएको ६ सय रुपैयाँ कटौती गरेपछि चालकहरुले ढुवानी सेवा नै बन्द गरेका हुन् ।

गएकाे शुक्रबारदेखि नै डिजेल पेट्रोलकाे बिलिंग नभएपछि पेट्रोल पम्पहरुमा डिजेल पेट्रोलको अभाव भएको हो ।

प्रेट्रोल पम्प व्यवसायीहरुको संस्था पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरका अध्यक्ष विष्णुदेव साह छन्  । त्यस्तै,पेट्रोलियम पदार्थ ढुवानी गर्ने टयांकर चालकहरुको संगठन पेट्रोलियम ढुवानी संघ जनकपुरको अध्यक्ष उनका आफ्नै जेठा दाई किसुनदेव साह छन् ।

यी दुई संस्थाका अध्यक्ष एवं दाजुभाईबीचको विवादले चालकहरुले ट्यांकर चलाउन बन्द गरेपछि बिलिंग नभएर बजारमा पेट्रोलियम पदार्थको हाहाकार भएको ट्यांकर चालकहरुको संगठन नेपाल टयांकर चालक मजदुर संघ महेन्द्रनगरका अध्यक्ष योगी यादवले प्रतिक्रिया दिनुभयो । 

‘विगतमा लिखित सम्झौता भए अनुसार ९ हजार रुपैयाँ मासिक तलब र प्रति ट्यांकर ढुवानी वापत ६ रुपैयाँ भत्तामा चालकहरुले काम गर्ने गरेका छौं’, ट्यांकर चालकसंघका अध्यक्ष यादवले भन्नुभयो, ‘अब ६ रुपैयाँ भत्ता नै नदिएपछि हामीहरुको घरपरिवार चल्दैन । त्यसैले हामी चालकहरुले ढुवानी बन्द गरेका हाैं । उनीहरु चालक लिएर आउन् र तेल लगुन् । हामी विनाभत्ता ढुवानी गर्दैनौं । ’

यस विषयमा पेट्रोलियम ढुवानी संघ जनकपुरका अध्यक्ष किसुनदेव साहले दाजुभाईमा कुनै विवाद नरहेको दावी गर्नुभयो ।

तर विगतमा चालकहरुलाई दिने गरेको ढुवानी भत्ता कटौती र पेट्रोलियम डिलर्स एसोसिएसनका केही व्यक्तिहरुले तीन जना ट्यांकर चालकलाई गालीगलौज गरेका कारण चालक मजदुरहरुले ढुवानी बन्द गरेको बताउनुभयो । 

तीनजना चालक मजदूरलाई गरेको दुरव्यवहारको विषयमा जिल्ला प्रशासनमा निवेदन समेत परेको उहाँले जानकारी दिनुभयो ।

यता नेपाल आयल निगम महेन्द्रनगरका डिपो प्रमुख मनमोहन साहले ट्यांकर चालकहरुले ढुवानी बन्द गरेकाले गत शुक्रबारदेखि डिजल पेट्रोल बिलिंग नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो ‘ पेट्रोल पम्पका साहुजीहरुलाई फोन गरी गरेर भनिरहेको छु । चालक लिएर आउनुस् र डिजेल पेट्रोल लग्नुस् ।’ 

धनुषाको महेन्द्रनगर डिपोबाट धनुषा,महोत्तरी तथा सिन्धुली सहितका तीन जिल्लाहरुमा २ लाख ५० हजार लिटर डिजल तथा १ लाख लिटर पेट्रोल दैनिक रुपमा बिक्रि वितरण हुँदै आएको छ ।

महेन्द्रनगर डिपो अन्तर्गत अहिले झण्डै १ सयको संख्यामा ट्यांकरले तेल आपुर्ति तथा ढुवानी गर्दै आएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया