पत्रकार रहिस अहमद सिद्दिकीको निधन

 मंसिर ६, २०७५ बिहिबार १४:३२:११ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जका पुराना पुस्ताका पत्रकार रहिस अहमद सिद्दिकीको बुधबार राति निधन भएको छ ।

नेपालगञ्जबाट नियमित रुपमा प्रकाशित हुँदै आएको समय अधिकार राष्ट्रिय दैनिकका प्रकाशक÷सम्पादक रहनुभएका ४७ वर्षीय सिद्दिकीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा निधन भएको हो । कलेजो र मिर्गौलासम्बन्धी समस्याबाट पीडित सिद्दिकी लामो समयदेखि उपचाररत रहनुभएको थियो ।

सिद्दिकीको निधनबाट नेपालगञ्जको पत्रकारिताले एक असल अभिभावक गुमाएको नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले बताउनुभयो ।  पत्रकार सिद्दिकी जामा मस्जिद इदगाह सञ्चालक समितिको अध्यक्ष समेत हुनुहुन्थ्यो । संयोगवश उहाँको मोहम्मद डेकै दिनमा निधन भएको छ ।

सिद्दिकी करिब अढाई दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आउनुभएको थियो । सिद्दिकीका पत्नी, चार छोरी र एक छोरा छन् । यसैबीच सिद्दिकीको बिहीबार दिउँसो नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको कव्रस्तानमा इस्लाम परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टिका परिवारका सदस्यसहित, पत्रकार र विभिन्न क्षेत्रका अगुवाहरुको सहभागिता रहेको थियो । यसैबीच सिद्दिकीको निधनप्रति नेपाल पत्रकार महासङ्घ बाँके, प्रेस युनियनलगायतका सङ्घ संस्थाले विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया