एपीएफले उचाल्याे प्रधानमन्त्री कपकाे उपाधि

 जेठ २८, २०७५ सोमबार १७:२६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – विभागीय प्रतिद्वन्द्वी त्रिभूवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै एपीएफ क्लबले एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरमा रहेको टीयू क्रिकेट मैदानमा आर्मीले दिएको २१० रनको लक्ष्य एपीएफले ४१.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍याे । एपीएफका लागि अनिल शाह र प्रदीप ऐरीले समान ६३–६३ रनको योगदान दिए । व्यक्तिगत १२ रन बनाएर सुवास खकुरेल रिटायर्ड भएपछि क्रिजमा आएका प्रदीप ऐरीसँग मिलेर अनिल शाहले पहिलो विकेटका लागि १३८ रनको साझेदारी गरेका थिए ।

त्यपछि क्रिजमा आएका पृथु बास्कोटाले २४ बलमा ३२ रनको आक्रामक पारी खेले । एपीएफका लागि रोहितकुमार पौडेलले पनि १५ रनको योगदान दिए । खेलको अन्तिम समयमा सुवास क्रिजमा फर्किएर २ रन थपे । करण केसीले अन्तिममा १५ रनको योगदान दिए ।

बलिङतर्फ सोमपाल कामीले तीन विकेट र विक्रम सोवले १ विकेट लिँदा चारैवटा क्याच आर्मीका कप्तान विनोद भण्डारीले लिएका थिए ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको आर्मीले ५० ओभरमा सबै विकेट गुमाउँदै २०९ रन बनाएको थियो । आर्मीले ५६ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो । यस क्रममा सागर पुन ५ रन, अनिल मण्डल १९ रन, नरेश बुढाऐर २० रन र राजु रिजाल ६ रनमा पवेलियन फर्किए ।

भीम सार्कीले ४५ रनको योगदान दिएर पारी उकास्ने प्रयास गरेपनि उनी बसन्त रेग्मीको बलमा बोल्ड भए । आर्मीका लागि सबैभन्दा धेरै रन बनाउन खेलाडी शार्की नै बने । सोमपाल कामीले ३६, कप्तान विनोद भण्डारीले ३५ रन बनाए भने विक्रम शोबले १, सुशन भारीले २ र सहाव आलमले २ रन बटुले ।

ब्लिङतर्फ करण केसीले तीन विकेट लिए भने बसन्त रेग्मी र भुवन कार्कीले २–२ विकेट हात पारे ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया