अनि, यसरी गले राजा महेन्द्र

 मंसिर ७, २०७५ शुक्रबार ८:३:० | जगत नेपाल
unn.prixa.net

राज्यसंयन्त्र बलियो थिएन, यातायातको सुविधा पनि कमजोर थियो । गुरिल्ला युद्ध सामना गर्ने क्षमता सरकारसँग थिएन । सीमा क्षेत्रका प्रहरी चौकी र सरकारी कार्यालयमा आक्रमण गरी क्रान्तिकारीहरुले भारतमा आश्रय लिएकाले पनि सरकार अप्ठ्यारोमा थियो । सुरक्षा निकायको सङ्ख्या कम हुनु, आधुनिक हतियार र सञ्चार उपकरणको कमी हुनु, भौगालिक विकटता र यातायातको असुविधा हुनु आदि कारणले गुरिल्ला युद्धको प्रतिरोध गर्ने क्षमता सरकारसँग थिएन । राजा महेन्द्र गल्दै गएका थिए । बीपीलाई जेलमुक्त गरी वार्ता गर्ने र पञ्चायती व्यवस्थामा सुधार गर्ने मानसिकता बनाइसकेका थिए राजाले । 

त्यसकै लागि राजाले बेलायती राजदूत स्पोक्सलाई सुन्दरीजल बन्दीगृह पठाई बीपीसँग कुरा गर्न लगाए । “पञ्चायती व्यवस्थालाई मानिदिए । पेटभित्र संसदीय शासन व्यवस्थाकै कुरा राख्न दिई संविधान संशोधन गर्न सकिने राजाको प्रस्ताव थियो (आचार्य, २०७० : २७) ।” सुन्दरीजलमा बन्दी बनाइएका गणेशमानले २०१८ जेठ १८ गते बेलायती राजदूतले बीपीलाई एक्लै भेटेको उल्लेख गरेका छन् । त्यो बेला राजा महेन्द्रले राजदूतसँग भनेका थिए, “तीव्र विकास गर्ने चाहना भएर मैले शासन सत्ता लिएको हुँ । अरु कारणले होइन । तर सोचे जस्तो नहुने रहेछ भन्नेमा म पुगेको छु । त्यसैले अब नयाँ संविधान बनाऊँ । व्यवस्थाको नाम पञ्चायती प्रजातन्त्र नै राखौं । त्यो संविधानको नाम पनि पञ्चायती संविधान नै राखौं (गौतम, २०६० : २३६) ।” त्यति बीपीले माने सहमति हुन्छ, तपाईं कुरा गर्नुस् भनेर बेलायती राजदूतलाई राजाले सुन्दरीजल पठाएका थिए ।

राजा मौलिक हक दिन तयार थिए । तर संसद्को नामचाहिँ राष्ट्रिय पञ्चायत नै राख्नुपर्ने उनको सर्त थियो । बीपीलाई पठाइएको सन्देशमा राजाले भनेका थिए, “संविधानको टाइटल मात्र म लेख्छु, अरु बाँकी कन्टेन्ट सब तपार्इंले भर्नुपर्छ ।” गणेशमानका अनुसार राजदूतले भनेका थिए, “मेरो विचारमा राजाको प्रस्ताव असल छ । बीपी तपाईं यसलाई स्वीकार गर्नुस् (गौतम्, २०६० : २३६) ।” 

राजासामु आत्मसमर्पण गरी उनकै प्रस्तावमा जेलमुक्त हुन बीपीले अस्वीकार गरिदिए । बेलायती राजदूतलाई कूटनीतिक उत्तर दिँदै उनले भनेका थिए, “म अहिले जेलमा छु, पार्टीको नेता सुवर्ण शमशेर हुनुहुन्छ । त्यसैले म कसरी स्वीकृति दिन सक्छु ?” अनि त्यो च्याप्टर त्यहीँ अन्त्य भयो । 

यसबीच राजाको सन्देशसहित रमेशनाथ पाण्डे सुन्दरीजल पुगे । बीपीसँग कुरा गरे । राजाहरुको दम्भ पनि गज्जबकै हुन्थ्यो । आफूले जसलाई भेट्न चाहे पनि चिठी लेखेर दर्शनभेट पाऊँ भन्न लगाउनैपर्ने ! 

बीपीसँग एक्लैमा भेटेको उल्लेख गर्दै पाण्डेले भनेका छन्, “मैले भनें— सान्दाइ खालि तपाईंले दर्शन पाऊँ भनेर लेख्नुभयो भने अरु सबै तयारी भइसकेको छ । राजा सिकार गर्ने बहानामा आउनेछन् र तपार्इंसँग भेटेर कुरा गर्नेछन् (गौतम, २०६० : २३८) ।” पाण्डेले निकै कर गरेपछि बीपी राजालाई पत्र लेख्न तयार भए । तर पत्र पठाएको लामो समयसम्म पनि दरबारबाट जवाफ आएन । धेरै पछि राजाको चिठी लिएर सैनिक अधिकारीहरु सुन्दरीजल पुगे । तर राजा महेन्द्रले लेखेको पत्र बीपीलाई दिइएन ।

उनीहरु भन्न थाले, “पढेर सुनाउनू भन्ने आदेश मात्र छ ।” बीपीलाई पनि झोँक चल्यो । भनिदिए, “ठीक छ, मेरो नाममा आएको पत्र मैले नपाउने हो भने म सुन्दिनँ ।” सैनिक अधिकारीसँग जवाफ थिएन । न त उनीहरु आदेशविपरीत पत्र बीपीलाई सुम्पिन सक्थे । धेरैबेरको सन्नाटापछि बीपीले नै वातावरण सहज बनाउँदै भने, “ठीक छ, तपाईंहरुले सुनाएको कुरा म सार्न त सक्छु नि ।” उनको त्यो भनाइबाट सुरक्षा अधिकारीलाई राहत भयो । उनीहरु भन्न थाले, “पत्र सुनाउने काम हाम्रो हो । अब सुनाउँदा हजुरले सार्नुभयो भने सार्न नदिनू भन्ने आदेश हामीलाई छैन ।” पत्र सार्न मिल्ने गरी बिस्तारै पढ्न थाले सैनिक अधिकारीहरु । 

गणेशमानकै शब्दमा पहिलो पटक राजाले साह्रै स्तरहीन भाषा प्रयोग गरेका थिए । पत्रमा भनिएको थियो, “विश्वेश्वरप्रसाद कोइराला तिमीले फलाना मितिमा दर्शन पाऊँ भनी हाम्रा हजुरमा चढाई पठाएको पत्र पाएँ । तिमीलाई थाहै छ, मैले भेट्दा त्यसको राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा असर पर्छ । त्यही सोच्दा जवाफ दिन ढिलो भएको हो (गौतम, २०६० : २४०) ।” त्यसअघि नेताहरुलाई राजा आदरार्थी शब्दले सम्बोधन गर्थे । सधैं तपाईं भनेर सम्बोधन गरिरहेका राजा महेन्द्रले पहिलो पटक बीपीलाई त्यही पत्रमा तिमी भनेका थिए । बाहिर जस्तो दम्भ देखाए पनि राजा भित्रभित्रै एकदमै गलेका थिए । सत्ता हत्याए पनि उनले भने जस्तो अवस्था थिएन । 

त्यसैले बीपीलाई जेलमुक्त गरी प्रजातन्त्रवादी शक्तिहरुसँग मेलमिलापको हात बढाउने मानसिकता बनाइसकेका थिए उनले । बीपी जेलमुक्त भएर बनारस गएपछि (२०१७ को शाही ‘कु’पछि मन्त्री भएका) ऋषिकेश शाहले सुनाएका थिए, “त्यस बखत राजा एकदमै आत्तिएका थिए । कमान्डर इन चिफले राजालाई भनेको रहेछ— सरकार अब राजनीतिक समाधान खोज्नुपर्‍यो, मिलिटरी उपायले मात्र केही हुँदैन । किनभने हाम्रो आर्मीले धेरै फ्रन्टमा भिड्नुपरेको छ । अब कहीँ उनीहरुले कुनै अर्को ठाउँमा फ्रन्ट खोले भने बडो गाह्रो पर्छ (कोइराला, २०६७ : ३०४) ।”

सेनाले समेत राजनीतिक समाधान खोजेपछि सैन्यबलमा टिकेका राजा अत्तालिनु अस्वाभाविक थिएन । उनले मन्त्रिपरिषद्को बैठक बोलाएर भने, “अब म बीपीलाई झिकाउँछु र ऊसँग सम्झौता गर्छु (कोइराला, २०६७ : ३०४) ।” तर पञ्चायतमा रजगज गरिरहेका डा. तुलसी गिरी र विश्वबन्धु थापाले त्यसको विरोध गरे । “सरकार केही समय पर्खिबक्सियोस् बीपीलाई जेलमुक्त नगरिबक्सियोस्, हामी सबै ठीकठाक बनाउँछौं (कार्की, २०७० : १४) ।”

–बाह्रखरी बुक्सद्वारा प्रकाशित पत्रकार तथा लेखक जगत नेपालद्वारा लिखित पुस्तक ‘बीपीको विद्रोह’ शुक्रबार विमोचन हुँदैछ ।


 

अन्तिम अपडेट: मंसिर २०, २०७५

तपाईको प्रतिक्रिया