आईसीसी महिला टी–२० विश्वकप : इंग्ल्याण्डले भारतलाई ८ विकेटले हरायो

 मंसिर ७, २०७५ शुक्रबार ११:४२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी महिला टी–२० विश्वकपको उपाधिका लागि इंग्ल्याण्ड र अष्ट्रेलिया खेल्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई ८ विकेटले हरायो भने अष्ट्रेलियाले वेष्ट इन्डिजलाई ७१ रनले पाखा लगायो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारत १९ ओभर तीन बलमा एक सय १२ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । राम्रो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेको थियो ।

तर त्यसपछि उसले एक सय रन पार गर्दा अरु सात विकेट गुमायो । भारतका लागि तानीया भाटियाले ११ रन बनाइन् भने स्मृति मन्दानाले ३४ रनको योगदान गरिन् । यस्तै जेमिमा रोद्रिगुइजले २६ रन बनाउदा हरप्रित कौरले १६ रन जोडिन् । तर त्यसपछिका खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए ।

जसका कारण उपाधिको बलियो दावेदार भारत सस्तैमा खुम्चिन पुग्यो । बलिङतर्फ इंग्ल्याण्डका लागि हिथर नाइटले तीन तथा क्रिस्टि गोरडोन र सोफिले दुई दुई विकेट लिए ।

जवाफमा खराब सुरुवात गरेपनि इंग्ल्याण्डले १७ ओभर एक बलमा दुई विकेट गुमाउदै लक्ष्य पूरा गर्‍याे। चार रनमा पहिलो विकेट गुमाएको इंग्ल्याण्डले २४ रनमा दोस्रो विकेट खेर फाल्यो । तर त्यसपछि एमी जोन्स र नाटालीया सिभेर दुबैले अर्धशतक बनाउँदा इंग्ल्याण्डले सहज जित हात पर्‍याे । एमीले ५३ तथा नाटालीयाले ५२ रन बनाइन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया