शीतल निवासका सल्लाहकारको मत : धनभन्दा विद्या ठूलो, विद्याभन्दा धन ठूलो !

 मंसिर ८, २०७५ शनिबार ७:४५:३५ | मिलन तिमिल्सिना
unn.prixa.net

दसैँमा शीतल निवास पुगेर टीका थाप्नेको शीर झुकेको थियो । तिहारको टीका सकिएपछि भने शीतल निवासको आफ्नै शीर झुकेको जस्तो देखिन थाल्यो । 

शीतल निवासको शीर ठाडो पार्न त्यहाँ ठूलै दलबल छ, सल्लाहकार र विज्ञ नामको । उनीहरु शीतल निवासका हर्ताकर्ता, बिघ्न हर्ता । शीतल निवासको शीर ठाडो पार्न दिनरात चिन्तित सल्लाहकार र विज्ञहरु यस्तो बेला चिन्तनशील र गम्भीर नहुने कुरै भएन । 

त्यसैले सल्लाहकारहरु एक ठाउँमा भेला भएर कोही शीर्षासन, कोही बक्रासन, कोही पद्मासन र कोही कमलासनमा बसेर १८ करोडको गाडी र प्रहरी तालिम केन्द्रलाई हेलिकप्टर बिसौनी बनाउने कुरामा गम्भीर विमर्श गर्न थाले । 

‘हैन १८ करोडको कुरा कसरी बाहिर आयो ?’ पद्मासनमा बसेको सल्लाहकारले टाउको कन्याए ।

‘के थाहा त ? न यहाँबाट निर्णय भएको हो, न त यहाँबाट यस्तो सूचना चुहिने सम्भावना नै छ !’ शीर्षासनमा खडा भएको सल्लाहकारले फ्याँ फ्याँ गर्दै जवाफ दिए ।
कमलासनमा बसेको सल्लाहकारलाई खपिनसक्नु भयो । भने ‘बालुवाटारले खुमलटारमा खबर गर्‍यो होला, अनि खुमलटारले कुरो खुस्कायो होला नि ! ’ 

‘खुस्कायो होला हैन मित्र, चुहाएको हो चुहाएको ! शीतल निवासमा सल्लाहकार भएपछि शब्दको अर्थ बुझेर बोल्न सिक । यो खुस्किएको कुरो हैन, जानाजान चुहिएको सूचना हो’ बक्रासनको सल्लाहकारले विद्वता प्रदर्शन गरे । 

रगतको उर्ध्वासनले शीर्षासनवालाको टाउको रन्कन थालेको निकैबेर भैसकेको थियो । बोले ‘चुहिन त चुहियो, तर पुरै चुहाउन सकेको भए पो हुन्थ्यो । आधी चुहियो, आधी चुहिएन । एउटै गाडीको १८ करोड पर्ने त हैन नि ! राजकीय सवारीमा ३ वटा लिमोजिन चाहियो । त्यसमाथि एम्बुलेन्स र स्कर्टिङसमेत चाहियो । सबै जोड्दा दर्जन जति गाडी र मोटरसाईकल जोडेर १८ करोड भन्ने कुरा चुहिएको भए राम्रो हुन्थ्यो । त्यसमाथि गाडी नचढेर साइकल चढ्ने हो र ?’

‘त्यसरी चुहिएको कुरालाई चुहिएको भन्न मिल्दैन मित्र । त्यो त व्याख्या भयो । व्याख्याबाट निबन्ध बन्छ, समाचार बन्दैन । तर कुरा चुहाउनेलाई थाहा थियो, पत्रकारलाई व्याख्या मन पर्दैन, तातो अण्डा टाइपको कुरा चाहिन्छ । त्यसैले उस्ले अधुरो कुरा चुहायो’ कमलासन सल्लाहकारले गम्भीर मुद्रामा सूचना चुहावटको विश्लेषण गरे ।

‘जे जसरी चुहिएको भए पनि मान्छेले त यसै पनि आलोचना गर्थे नि महामहिमलार्ई किन चाहियो १८ करोडको गाडी भनेर ?’ बक्रासनका सल्लाहकारको बोली मिसियो ।

‘सामाजिक सञ्जाल चलाउने सञ्जालेहरुले त खेदो खनेर हामीलाई समेत गञ्जागोल बनाए नि । हुँदाहुँदा मुना मदनको प्रसंगसमेत निकालेर मदनसँग तुलना गर्न भ्याएछन्’ शीर्षासनका सल्लाहकारले सानो स्वरमा भने ।

‘गालपारा सञ्जालेहरुलाई के थाहा सबै मदनकी मुना, मुनाजस्ती हुँदिनन् । अनि सबै मुनाकी मदन, मदनजस्ता पनि हुँदैनन्’, पद्मासनका सल्लाहकार अलि बाठो हुन खोजे ।

‘तर अहिले त मदनकी मुनालाई पो देखी सहेनन् त’, कमलासनका सल्लाहकारले टाउको कन्याए ।

‘त्यति मात्र हो र, पहिले स्कुलको शुक्रबारे कार्यक्रममा हुने वादविवाद प्रतियोगिता पनि सुरु भएछ, धनभन्दा विद्या ठूलो भनेर । हुन पनि हो धनभन्दा त विद्या नै ठूलो हो’, बक्रासनका सल्लाहकारले बकबक गरे ।

‘विद्याभन्दा धन ठूलो भन्नेले पनि वादविवाद प्रतियोगिता जितेका छन् भन्ने यथार्थ पनि नभुल्नुहोस्’, कमलासनका सल्लाहकार अलि कड्किए ।

यति भन्नासाथ शीतल निवासमै सल्लाहकारहरुबीच वादविवाद प्रतियोगिता सुरु भयो ।

‘जसले जे भने पनि धन भन्दा विद्या नै ठूलो हो । हाम्रो महामहिमसँग पहिले धेरै धन थिएन । विद्या मात्रै थियो । उहाँले धनलाई जित्नुभयो, अर्थात विद्याको अघिल्तिर धनको केही लागेन । धन नभए पनि विद्या यहाँसम्म आइपुग्नुभयो’, पद्मासनका सल्लाहकारले तर्क गरे ।

‘अब यहाँ आएपछि विद्याभन्दा धन ठूलो भयो । जता फर्के पनि धन चाहियो । गाडी चढ्न पनि धन । सानो ठाउँलाई फराकिलो बनाएर बस्ने मन । त्यसैले त प्रहरीले तालिम गर्ने ठाउँमा हेलिकप्टर राख्ने रहर लाग्यो । अहिले विद्यालाई धनले जित्यो । त्यसैले विद्याभन्दा धन ठूलो’, कमलासनका सल्लाहकारले औँला ठाडो पारे । 

‘तपाईँले कुतर्क गर्नुभयो । गाडी चढ्न र फराकिलो ठाउँमा बस्ने रहर हुनु पनि धन ठूलो हैन, विद्या नै ठूलो भएर भएको हो । विद्या नभएको भए त्यो धनको कुरा कसरी आउँथ्यो ? धन मात्रै भएर भएन, विद्या पनि हुनुपर्यो । विद्या नभएको ठाउँमा धनको केही महत्व हुँदैन । त्यसैले धनभन्दा विद्या ठूलो’, बक्रासनका सल्लाहकार बुरुक्क उफ्रिए ।

कमलासनका सल्लाहकारलाई यो तर्क चित्त बुझेन । उनी जंगिए, ‘धनभन्दा विद्या कसरी ठूलो हुन्छ ? यति ठूलो निवास हेर्नुहोस्, यो वरपरको प्रांगण हेर्नुहोस्, विद्याभन्दा ठूलो छ । अझै ठूलो बनाउन छेउको प्रहरी रहेको ठाउँ समेत ताक्दैछौँ । यो जमिन, यो निवास, अनि भर्खरै आएको विद्युतीय गाडी, अनि अब ल्याउन खोजिएको १८ करोडको गाडी, यी सबै धन हुन् । यी सबै धनसम्पत्ति विद्याभन्दा ठूलो छ । त्यसैले धनभन्दा विद्या ठूलो होइन, विद्याभन्दा धन ठूलो हो ।’

विद्या ठूलो भन्ने बक्रासनका सल्लाहकारलाई फेरि चित्त बुझेन । उनले अलि नरम भएर आफ्नो अर्को तर्क तेर्साए, ‘ल विद्वानले नै भनेको कुरालाई हेरौं । यति ठूलो निवास कसका लागि ? अहिले भैरहेको फराकिलो ठाउँलाई अझै फराकिलो बनाउन खोजेको कसका लागि ? झण्डा हल्लाउँदै र अघिपछि साइरन बजाउँदै सररर हुईंकिन पाइने थरिथरीका गाडी हुँदाहुँदै फेरि १८ करोडको गाडी चाहिएको कसका लागि ? यी सबै धन चाहिएको कसलाई ? विद्यालाई होइन ? अनि त्यतिका धनको स्वामित्व लिन खोज्ने विद्या ठूलो कि नाम मात्रैको धन ठूलो ?’

धन ठूलो भनेर एकोहोरो तर्क गरिरहेका कमलासनका सल्लाहकारलाई यो तर्क पनि ठीक लागेन । उनले भने, ‘महंगा गाडी, फराकिलो ठाउँ खोज्नुको कारण के हो नि मित्र ? यी  सबै कुरा साना भएका भए रहर हुन्थ्यो ? खोजी हुन्थ्यो ? सानातिना कुरामा ठूलाबडाको रुची हुन्थ्यो ? ठूला र महंगा कुरामै ठूलाबडाको रुची भएपछि ठूलाबडाभन्दा धनसम्पत्ति ठूलो भयो कि भएन ? त्यसैले विद्या होइन बाबै धन नै ठूलो हो ।’

‘अरे बाबा त्यही धनमा हालीमुहाली गर्ने मान्छे पो ठूलो हुन्छ त । ठूला धनसम्पत्तिमा राज गर्न खोज्ने मान्छे झन् ठूला । त्यसैले धनभन्दा विद्या ठूलो’ विद्या ठूलो भन्ने बक्रासनका सल्लाहकार फेरि बुरुक्क उफ्रिए ।

‘हैनहैन धन ठूलो ।’
‘हैन विद्या, हैन धन.........’

दुईथरीको हात हालाहाल नै हुने अवस्था आएपछि पद्मासनका सल्लाहकारले मध्यमार्गी उपाय निकाले । उनले भने, ‘यो परिस्थितिमा न विद्या सानो, न धन सानो । दुवै ठूलो । धन ठूलो भएकाले नै विद्यालाई धन चाहियो, अनि विद्या ठूलो भएकाले धन उनको पछि लाग्नु पर्यो । त्यसैले धनभन्दा विद्या ठूलो, विद्याभन्दा धन ठूलो ।’
 

अन्तिम अपडेट: मंसिर १७, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया