स्वास्थ्य पर्यटनको केन्द्र बन्दै म्याग्दीको तातोपानी कुण्ड, अहिलेसम्म कुन–कुन नेता आए   ?

 मंसिर ८, २०७५ शनिबार ९:३८:२४ | प्रताप बानियाँ

म्याग्दी – प्राकृतिक चिकित्सालयको रुपमा विकसित हुँदै गैरहेको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्ड पछिल्लो समय स्वास्थ्य पर्यटनको केन्द्र बन्दै जान थालेको छ । 

जिल्लामा आउने उच्च सरकारी अधिकारी, केन्द्रीयस्तरका नेताहरु, स्वदेशी तथा विदेशी पर्यटक तातोपानी कुण्डमा नुहाउन र अवलोकन गर्न पुग्ने क्रम बढेसँगै तातोपानीको कुण्डमा स्वास्थ्य उपचारको महत्व बढेको हो । लाखौँ रकम खर्च गरी स्वदेश तथा विदेशका महङ्गा र ठूला अस्पतालमा पुगेर उपचार गर्दा पनि रोग निको नभएपछि बिरामीहरु तातोपानी कुण्ड जाने गरेका छन् । 

कुण्डमा नेपालको अधिकांश जिल्लाका साथै स्नान गर्नका लागि भारत, जापान र बङ्गलादेशबाट समेत बर्सेनि सयौँ विदेशीहरु आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । तातोपानी कुण्डमा नुहाउन समितिले टिकटको व्यवस्थासमेत गरेको छ । कुण्डमा डुब्ने बिरामीको सङ्ख्या बढेमा महिला पुरुषको छुट्टाछुट्टै नुहाउने व्यवस्था मिलाउने गरिन्छ ।

२०४२ सालमा फेला पारिएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षण गरी कुण्डको रुप दिएर प्रचारप्रसार गरेपछि अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रका रुपमा स्थापित भएको छ । शैक्षिक भ्रमणका लागि पनि विद्यार्थीहरु कुण्डमा पुग्ने गरेका छन् ।

म्याग्दीखोलाको किनारमा रहेको तातोपानीको कुण्ड वर्षातको समयमा खोलाले बगर बनाउने हुँदा जोखिममा परेको थियो । स्थानीयले बिहान र बेलुकाको समयमा स्नानको रुपमा प्रयोग गर्दै आएको पोखरीलाई केही समयपछि कुण्डमा परिणत गरिएको हो । बुढ्यौली उमेरले च्याप्दै गएपछि रोगले सताउने हुँदा बर्सेनि तातोपानी कुण्डमा स्नान गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ ।

कुण्डमा एकपटक आएर डुबेका बिरामीहरु निको भएपछि फर्किएर पटकपटक आउने गरेका छन् । कुण्डमा वार्षिक झण्डै २० हजारको हाराहारीमा बिरामीहरु स्नान गर्न आउने गरेको तथ्याङ्क रहेको छ । 

पछिल्लो समय कुण्डमा आउने बिरामीहरुको सङ्ख्या बढेको हुँदा कुण्ड आसपासमा थप पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता देखिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्य बताउनुहुन्छ । उहाँले म्याग्दी नदीको किनारमा रहेको अर्को तातोपानी कुण्डको संरक्षण गरी पूर्वाधार बनाउन सकेमा बढ्दो बिरामीको व्यवस्थापन गर्न सकिने बताउँदै त्यसका लागि सम्बन्धित निकायमा पहल थालिएको बताउनुभयो ।

हालै मात्र पूर्व प्रधानमन्त्री तथा (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाको परिवारसहित आफन्तले तीन दिनसम्म बेनीमा बसेर तातोपानी कुण्डमा नुहाएपछि आम मानिसको आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।

नेताद्वयको म्याग्दी जिल्ला बसाई र भ्रमणले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने सरोकारवाला निकायहरु बताउँछन् । पछिल्लोपटक भएको प्रचण्ड र गृहमन्त्री थापाको म्याग्दी भ्रमण तथा तातोपानी कुण्डमा गरेको स्नानलाई निकै महत्वका साथ हेरिएको छ । 

तातोपानी कुण्डमा डुबेपछि के हुन्छ ?

सामान्यतयाः तातोपानीको प्रयोगले मानिसको स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । सोलार तथा बिजुलीको प्रयोगबाट तताएको तातोपानी र प्राकृतिक तातोपानीको कुण्डमा नुहाउनु धेरै फरक छ । जमिन मूनिबाट ४८ डिग्री सेन्टिग्रेडको तापक्रममा विरेनुनको स्वादमा निस्कने तातोपानीको कुण्ड म्याग्दीमा रहेको छ ।

तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हाडजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्किएको, नसा च्यापिएको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहेको छ । म्याग्दीका अन्य ठाउँमा पनि तातोपानीका कुण्ड छन् । 

निजी क्षेत्र र पर्यटन व्यवसायी उत्साहित     

यसैबीच ने क पाका अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाको म्याग्दी भ्रमणले यहाँका निजी क्षेत्र तथा पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ मनाइरहेको सन्दर्भमा देशकै उच्चस्तरका नेताहरु तातोपानी कुण्डमा आउनु सकारात्मक विषय भएको बताउँदै म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले जिल्लाको पर्यटन प्रवर्द्धनमा यसले थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका कोषाध्यक्ष सागर बरुवालले प्रचण्ड र गृहमन्त्री जिल्लामा बसेर तातोपानी कुण्डमा डुबुल्की मार्नु होटल व्यवसायीका लागि पनि सौभाग्यको कुरा भएको प्रतिक्रिया दिनुभएको छ । यसबाट जिल्लाको होटल व्यवसाय समेत फस्टाउने भन्दै उहाँले म्याग्दीको प्रचारप्रसार हुनुका साथै सबै क्षेत्रमा सहयोग पुगेको बताउनुभयो । 

अहिलेसम्म कुनकुन नेताहरु पुगे त कुण्डमा ?

यसअघि तातोपानी कुण्डमा पूर्व प्रधानमन्त्री तथा (ने क पा)का वरिष्ठ नेता झलनाथ खनाल, पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, पूर्वमन्त्री विक्रम पाण्डे, वर्तमान सरकारका रक्षामन्त्री ईश्वर पोख्रेल, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेल र नेपाल सरकारका विशिष्ट सचिव डेकेन्द्र पौडेल पुगेका थिए । पूर्वप्रधानमन्त्री खनालले तातोपानी कुण्डको भ्रमणपछि केही बजेट सहयोग गरेको हुँदा त्यसबाट कुण्डमा डुबेर गुफिनका लागि बिरामीलाई आवश्यक बस्ने ठाउँहरु निर्माण गरिएको छ । 

पूर्वमन्त्री पाण्डेले व्यक्तिगत रुपमा कुण्डलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुका साथै उहाँ र सचिव पौडेल कुण्डको आजीवन सदस्य बनेका छन् । पूर्व प्रधानमन्त्री प्रचण्डले तातोपानी कुण्डमा नुहाएर फर्किने क्रममा म्याग्दी पर्यटन, कृषि र जलविद्युतको सम्भावनायुक्त जिल्ला भएकाले सडकको स्तरोन्नति गर्नतर्फ जोड दिँदै यसका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले तातोपानी कुण्डमा स्नान गरेको हुँदा शरीरलाई आरामको महसुससमेत भएको अनुभव सुनाउनुभएको थियो । सदरमुकाम बेनीदेखि ९ किलोमिटर पश्चिममा पर्ने तातोपानी कुण्डमा सवारी साधनबाट सजिलै पुग्न सकिन्छ । 

कहाँ जान्छ कुण्डको आम्दानी ?

बर्सेनि झण्डै ५० लाख रुपैयाँ आम्दानी हुने तातोपानी कुण्डबाट स्थानीय सरस्वती माध्यमिक विद्यालयमा कार्यरत ११ जना निजी स्रोतका शिक्षक तथा कर्मचारीको तलब भत्तामा वार्षिक झण्डै २५ लाख रुपैयाँ लगानी गर्ने गरिएको छ । यसका साथै कुण्डमा पूर्वाधार निर्माण र बेनी नगरपालिकालाई कुण्डले वार्षिक २५ प्रतिशत कर तिर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया