पैसा संकलन गरी स्थानीयले बनाए पक्की सडक : ‘आफ्नो पैसा खर्च हुँदा सार्वजनिक सम्पत्तिको माया हुँदो रैछ’

 मंसिर ८, २०७५ शनिबार ११:६:४४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–९, नयाँबजारका स्थानीयले पैसा संकलन गरी सडक कालोपत्रे गरेका छन् ।

सुन्दरबजार नगरपालिकाबाट प्राप्त ४ लाख र स्थानीयबाट संकलित २ लाख गरी ६ लाख रुपैयाँको लागतमा उनीहरुले सडक कालोपत्रे गरेका हुन् । नगरपालिकाबाट प्राप्त रकममा आफूहरुले पनि पैसा थप गरी ६५ मिटर लामो सडक कालोपत्रे गरिएको स्थानीय अजित अधिकारीले बताउनुभयो ।   

‘स्थानीय हरिकुमार श्रेष्ठको घरदेखि रामकुमार श्रेष्ठको घरसम्मको बाटोमा पर्ने यस सडकको बाँकी रहेको ६५ मिटर बाटो पिच गरेका हौँ । सडकखण्डको अरु भाग भने पहिले नै पिच भएको थियो’, उहाँले भन्नुभयो ।     

स्थानीयले सडक कालोपत्रे गर्नुका साथै नालाको पनि मर्मत गरेका छन् । अजितका अनुसार सडकको दायाँबायाँ रहेका १४ घरले फुटका हिसावले आर्थिक सहयोग जुटाएका हुन् । घरको कम्पाउण्ड नापेर फुटको हिसावमा उनीहरुले रकम संकलन गरेका हुन् । स्थानीयले प्रतिफुट ५ सय २८ रुपैयाँका दरले रकम संकलन गरेका छन् ।          

यस सडक पूर्वी लमजुङ जाने सडकसँग जोडिएको छ । सडक कालोपत्रे गर्न गठित उपभोक्ता समितिका कोषाध्यक्ष सिर्जना बराल अधिकारीका अनुसार पहिले सडक कच्ची थियो । पक्की नाला थिएन । बाटो बर्खामा हिलाम्य हुन्थ्यो । हिउँदमा सडक धुलाम्य हुन्थ्यो ।   

‘यो पूर्वी लमजुङ जाने बाटो हो । स्थानीय सरकारबाट प्राप्त रकममा आफूहरुले पनि केही रकम थपेर कच्ची सडक कालोपत्रे गरेका हौँ’,उहाँले भन्नुभयो ।      
स्थानीय विनोद अधिकारीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको हो । स्थानीयको साथ सहयोग पाउँदा सडक कालोपत्रे गर्ने काम छिट्टै सकिएको उपभोक्ता समितिका अध्यक्ष अधिकारीले बताउनुभयो । विकासको लागि राज्यको मात्रै मुख ताक्न नहुने स्थानीय हिरा गुरुङले बताउनुभयो । 

‘सरकारबाट प्राप्त रकममा आफूहरुले पनि केही रकम थपेर सडक कालोपत्रे गर्न पाउँदा खुसी छौँ । विकास निर्माणमा आफ्नो श्रम–पसिना, पैसा खर्च हुँदा सार्वजनिक सम्पत्तिको माया हुँदो रहेछ । यसले गर्दा सार्वजनिक सम्पत्तिको संरक्षण, संवद्र्धनमा टेवा पुग्छ’, उहाँले थप्नुभयो । 

पक्की सडक बनेसँगै हिँड्डुलका साथै सवारी आवतजावतका लागि निकै सहज हुने स्थानीयले बताएका छन् । गाउँठाउँको विकास निर्माण कार्यमा स्थानीय जुट्नु निकै राम्रो पक्ष रहेको सुन्दरबजार नगरपालिका–९, का वडासदस्य अमोल खनालले बताउनुभयो ।

वडाभित्रका सम्पूर्ण विकासका योजनाहरु तोकिएको समयभित्रै सक्ने दिशामा वडा कार्यालय लागिपरेका समेत उहाँले बताउनुभयो ।   

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया