सरकारी काम सकेर पनि बेसहाराको सहयोगमा जुट्छन् हुलाक अधिकृत भण्डारी

 मंसिर ८, २०७५ शनिबार १४:५१:३० | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – ६२ वर्षका धनबहादुर थापाले २०७३ सालमा ‘ख’ श्रेणीको अपाङ्गता परिचयपत्र पाउनुभयो ।

अहिले अपाङ्ग परिचयपत्र बनाएको तीन वर्ष पुग्यो तर अहिलेसम्म पनि थापाले सामाजिक सुरक्षा भत्ता पाउन सक्नुभएको छैनन् । थापा बोल्न र सुन्न सक्नुहुन्न । उहाँलाई आफूले सामाजिक सुरक्षा भत्ता पाउँछु भन्ने ख्याल समेत छैन ।

थापाले गएको तीन वर्ष पहिलेदेखि नै पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नपाएको थाहा पाएपछि जिल्ला हुलाक कार्यालयका अधिकृत धिरेन्द्र भण्डारीले अपाङ्ग थापालाई सुरक्षा भत्ता दिलाइदिने पहल सुरु गर्नुभयो ।

थापा शारदा नगरपालिका वडा नम्बर ३ बडाखोलामा बस्नुहुन्छ । भण्डारी पनि त्यसै ठाउँका स्थानीयवासी हुनुहुन्छ । थापाको आर्थिक अवस्था नाजुक भएको देखेपछि भण्डारीले उहाँलाई सकयोग गर्ने सोच बनाउनुभयो । कार्यालय प्रमुख भण्डारीले अपाङ्ग थापालाई आफैसँग बाइकको पछाडि राखेर भत्ता दिलाइदिन विभिन्न कार्यालयहरुमा पुर्याउनुभयो ।

‘आमा बुवाको बारेमा केही थाहा नपाएका थापाको पुर्खौली घर साविकको काभ्रा गाविस वडा नम्बर ७ मा रहेछ । सँगै बस्दै आएका भाइहरु त्यहाँबाट बसाइसराई गरेर अहिले शारदा गगरपालिका वडा नम्बर ३ मा बस्नुभएको छ र अपाङ्ग थापाको  बसाइसराई छुटेको पाइयो’, कार्यालय प्रमुख भण्डारीले भन्नुभयो ।

थापाले सामाजिक सुरक्षा भत्ता पाउनका लागि त्रिवेणी गाउँपालिकामा गएर नाम दर्ता गर्नु पर्ने थियो, जुन कुरा स्वयंम् थापालाई नै थाहा थिएन् । त्यहाँ जाने व्यक्तिले समेत प्रकृयाको बारेमा थाहा नभएपछि उहाँ भत्ता पाउनबाट बञ्चित भएको भण्डारीलाई थाहा भयो ।

त्यसपछि भण्डारीले त्रिवेणी गाउँपालिकाको वडा सचिवसँग कुराकारी गरेर त्यहाँको सेवा सुविधा शारदा नगरपालिकाबाट पाउनुपर्ने प्रक्रिया मिलाउनुभयो । त्यसका लागि थापाको बसाइसराइ खलंगामा गर्नुपर्ने भयो ।

कानुनी प्रक्रिया मिलाएर मंसिर २ गते त्रिवेणी गाउँपालिकाबाट बसाइसराइको प्रमाणपत्र प्राप्त गरेको बताउँदै भण्डारीले शारदा नगरपालिकामा भने समस्या आएको बताउनुभयो । बिचल्लीमा परेका थापाको नागरिकतामा बाबुको नाम नराखेको हुनाले भत्ता लिनका लागि थप समस्या आएको उहाँको भनाई छ ।

‘थापालाई समेत आफ्नाे बाबुको नाम थाहा छैन् । उनीले संकेतले आफू सानै छँदा बाबु मरेको बताउँछन्’, भण्डारीले भन्नुभयो, भन्नुभयो, ‘यस्ता असहाय र अपाङ्ग व्यक्तिलाई देखेर सहयोग गर्ने भावना पलायो ।’

‘यस्ता असहाय र अपाङ्ग व्यक्तिलाई हामीले सहयोग नगरे अरु कसले गर्ने ?’, उहाँले भन्नुभयो, ‘बसाइसराईको काम अहिले प्रक्रियामै छ, अब निर्वाचन कार्यालयमा गएर मतदाता नामावली पनि बनाइदिन सहयोग गर्ने छु र सामाजिक सुरक्षा भत्ता पाउने लिष्टमा पनि नाम राख्न सहयोग गर्छु ।’

‘थापाकै काम गर्न हिँडेको शुक्रबार तेस्रो दिन हो’, उहाँले भन्नुभयो, ‘कार्यालय समय बाहेकको खाजाखाने समयमा दौडधुप गरिरहेको छु । ’ भाइबुहारीसँग बस्दै आएका थापाको लागि भण्डारी भगवान नै सावित भएका छन् । सँगै बस्दै आएका थापाका भाइ अहिले पैसा कमाउनका लागि भारतमा रहेको र बुहारीले पनि घर खर्च चलाउन अर्काको घरमा ज्याला मजदुरी गर्दै आएको भण्डारीले बताउनुभयो ।

आर्थिक संकट रहेको थापाको परिवारलाई भण्डारीको सहयोग महत्वपूर्ण भएको छ । सरकार आफैले त्यस्ता व्यक्तिलाई सहयोग गर्नुपर्ने हो तर थापाले सरकारबाट त्यस्तो सहयोग पाउनुभएन । भण्डारीले थापाको लागि कसैले सहयोग नगरेकाले आफूले सहयोग गरेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया