हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन र आरोपितको घरमा आगजनी

 मंसिर ८, २०७५ शनिबार १५:५७:१ | गोपाल भण्डारी

कपिलवस्तु – शुक्रबार राति गोलीप्रहारबाट हत्या गरिएका स्थानीय नेता राजाबाबु भन्ने दिपेन्द्र चौधरीको हत्याको विरोधमा उनकाआफन्तजनले आगजनी तथा विरोध प्रदर्शन गरेका छन् । 

प्रदेश सभा सदस्य पदका उम्मेदवार युवा नेता राजाबाबु चौधरीको शुक्रवार राति ९ बजे शुद्धोदन गाउँपालिका वडा नं.–४, मोतीभारीमा गोलीप्रहारबाट हत्या गरिएको थियो ।  

हत्याको आरोप लागेका शुद्धोदन गाउँपालिका वडा नं.–४, मोतीभारीका अजित पाण्डेयको घरमा आगजनी गरिएको छ । 

हत्याको विरोध गर्दै मृतक राजाबाबु चौधरीका आफन्तजन, समर्थक र सर्वसाधारणले आरोपी पाण्डेयको घरमा रहेको १ थान ट्याक्टर, १ थान हार्भेस्टर कम्बाइन र ४ थान मोटरसाइकलमा आगजनी गरेका हुन् । 


आगजनीको प्रयासलाई नियन्त्रणमा लिन खोज्दा सर्वसाधारण र प्रहरीबिच झडपसमेत भएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनु भयो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी हवाई फायर र गोलीसमेत चलाएको छ । 

झडपका कारण सशस्त्र प्रहरी निरीक्षक गोविन्द श्रेष्ठको हातमा चोट लागेको छ भने थप २ जना प्रहरी घाइते भएका छन् ।

आक्रोशित भीडले हत्याको विरोधमा हत्याआरोपी पाण्डेयको सो गाउँपालिका लवनीचौकमा रहेको परमिला आयल सेन्टरमा पनि आगजनीको प्रयास गरिरहेका छन् । पेट्राेल पम्पको सुक्षाका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ठूलो संख्यामा उपस्थिति रहेको छ । 

हत्याआरोपी पाण्डेय पक्राउ नपर्दासम्म मृतक परिवारले शवको दाह संस्कार नगर्ने जनाएका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन र वार्ताको प्रयास गर्न प्रहरी प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, नेपाल प्रहरीका उपरीक्षक अच्युतम पुडासैनीलगायतको टोली घटना स्थल लवनीमा तैनाथ छ । 

अन्तिम अपडेट: चैत २, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया