धनकुटा नगरपालिकालाई एभाेकार्डोको राजधानी बनाइयो

 मंसिर ८, २०७५ शनिबार १८:२९:१० | सन्ताेष रुचाल

धनकुटा – धनकुटा नगरपालिकालाई एभाेकार्डोको राजधानी घोषणा गरिएको छ । एसियाको पहिलो एभाेकार्डो महोत्सव पनि धनकुटामा शनिबार सम्पन्न भएको छ ।

धनकुटा नगरपालिकाको आयोजनामा आयोजित विश्वको दोस्रो र एसियाको पहिलो एभाेकार्डो महोत्सव २०७५ सम्पन्न भएको हो । एभाेकार्डो महोत्सवको अवसर पारेर धनकुटा नगरलाई एभाेकार्डोको राजधानीका रुपमा चिनाउनको लागि निर्माण गरिएको एभाेकार्डोको स्तम्भको उद्घाटन पनि गरिएको छ ।

नगरपालिकाको झण्डै ३० लाखको लगानीमा धनकुटा नगरपालिका–६, परिचयमोड छेउमा निर्माण गरिएको एभाेकार्डो स्तम्भको संघीय संसदका सदस्य राजेन्द्रकुमार राईले उद्घाटन गर्नुभयो । एभाेकार्डो स्तम्भको उद्घाटन गर्दै संघीय संसदका सदस्य राजेन्द्रकुमार राईले धनकुटा नगरलाई एभाेकार्डोको राजधानी घोषणा गर्नुभयो ।

उहाँले एभाेकार्डोको राजधानी घोषणा गर्दै एभाेकार्डो कृषकहरुका लागि बजारको अभाव हुन नदिनका लागि नगरपालिकाले पहल गर्नुपर्ने बताउनुभयो । एभाेकार्डो फलफूलहरुको राजा भएकाले धनकुटा आउने पर्यटकहरुलाई एभाेकार्डोको राजधानी घुम्न लागि योग्यस्थल बनाउन धनकुटा नगरपालिकाले गुरुयोजना निर्माण गरी अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो ।

एक दिने एभाेकार्डो महोत्सवमा ५० वटा स्टल राखिएको थियो भने ६० जातका एभाेकार्डो महोत्सव प्रदर्शनी गरिएको धनकुटा नगरपालिका प्रमुख एवम् महोत्सव मुल आयोजक समितिका संयोजक चिन्तन तामाङले बताउनुभयो ।

एभाेकार्डो कृषकहरुलाई प्रोत्साहन गर्दै लैजाने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा ६ जना कृषकहरुलाई पुरस्कृत गरिएको थियो भने सहभागी सबै कृषकहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो ।

नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेतको नेतृत्वमा गठन गरिएको छनोट समितिले गरेको सिफारिस अनुसार धनकुटा नगरपालिका–६ का एभाेकार्डो कृषक पुरुषोत्तम पोख्रेल प्रथम, धनकुटा नगरपालिका–४ का राजकुमार तामाङ द्धितीय, धनकुटा नगरपालिका–३ का जितेन्द्र राई तृतीय भएका छन् ।

त्यस्तै धनकुटा नगरपालिका–५ का सुजनभाइ जोशी, धनकुटा नगरपालिका–६ का उद्धव वाग्ले र धनकुटा नगरपालिका–३ का रिता भण्डारी सान्त्वना भएका छन् । महोत्सव प्रर्दशनीमा उत्कृष्ट प्रथम, द्धितीय, तृतीय र सान्त्वना भएका एभाेकार्डो कृषकहरुलाई क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार र ३/३ हजारसहित सम्मान–पत्रद्धारा पुरस्कृत गरिएको नगरपालिकाका मेयर तामाङले जानकारी दिनुभयो ।

मंसिर ८ गते शनिबार सम्पन्न भएको एकदिने एभाेकार्डो महोत्सवमा झण्डै २ हजार जनाले अवलोकन गरेको धनकुटा नगरपालिकाले जनाएको छ ।    

अन्तिम अपडेट: चैत १४, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया