झोलामा पैसा

 मंसिर ९, २०७५ आइतबार १०:१३:२८ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – एक वर्ष दुबई बसेर फर्किएका मोरङका २४ वर्षीय हेमराज विष्ट लगनखेलमा झोलाको व्यापार गर्नुहुन्छ । एकैपटक २५/३० वटा झोला बोकेर उहाँ सडकमा डुल्नुहुन्छ । उहाँसँग फरकफरक कम्पनीका झोलाहरु छन् ।

बिहानदेखि साँझसम्म झोला बोकेर डुल्दा दैनिक एकहजार रुपैयाँ जति कमाई हुन्छ । 

१० कक्षासम्म पढेका विष्ट विगत सात वर्षदेखि यही काम गर्दै आउनुभएको छ । यस बीचमा उहाँ डेढ वर्षअघि बैदेशिक रोजागारीको सिलसिलामा दुबई पनि पुग्नुभयो । तर त्यहाँ भनेजस्तो आम्दानी नभएपछि एक वर्ष बसेर फेरि स्वदेशमै फर्किनुभयो । नेपाल फर्केपछि विष्टले फेरि आफ्नो पुरानै काम थाल्नुभयो लगनखेलमा झोला बेच्ने ।  

त्यहाँ गएर नेपाली १० हजार रुपैयाँ जति पनि बचत गर्न सकिएन, त्यही भएर नेपाल फर्किएँ’ उहाँले भन्नुभयो, ‘आफ्नै देशमा बसेर मासिक १५ हजार रुपैयाँ जति बचत हुन्छ भने दुःख पाउनको लागि विदेश के जाने भन्ने लाग्यो ।’ 

विष्ट जस्तै लगनखेलमा झोलाको व्यापार गर्नेहरु अरु पनि छन् । विगत १० वर्षदेखि यही काम गरेर आफ्ना छोराछोरीलाई उच्च शिक्षासम्म पढाई रहनुभएको छ, मकवानपुरका कुमार पाठकले । अहिले छोरी ललितपुरको पाटन क्याम्पसमा स्नातक प्रथम वर्षमा र छोरा ११ कक्षामा पढ्दैछन् । लगनखेलमा यसरी नै झोला बेचेर उहाँले ५ जनाको परिवारको राम्रो गुजारा चलाईरहनुभएको छ । 

उहाँले पनि यही काम गरेर मासिक २० हजार रुपैयाँ जति कमाउनुहुन्छ । ‘काठमाडौंमा कोठाको भाडा तिर्नैपर्यो, खानेदेखि छोराछोरीलाई पढाउनसम्म पुगेकै छ’ उहाँले भन्नुभयो, ‘बाँकी बचेको घर पठाउँछुँ ।’ घरमा उहाँको श्रीमती र कान्छो छोरा हुनुहुन्छ ।

३० ओटा झोलाको भार २० किलोभन्दा बढी नै हुन्छ । ‘पुरै शरीर ढाकिने गरेर यसरी झोला भिरेपछि जाडोमा पनि ज्याकेट लगाइराख्नु पर्दैन’ पाठकले हाँस्दै भन्नुभयो, ‘ज्याकेट लगाएपछि त उकुसमुकुस भईहाल्छ ।’ 

काठमाडौंका विभिन्न झोला कम्पनीहरुबाट ठेकेदारले झोला किनेर ल्याउँछन् । यसरी उनीहरुले ल्याएका झोलाहरु व्यापारीहरुले होलसेलमा किन्छन् । यी झोलाहरुको मूल्य सस्तोमा तीन सयदेखि महंगोमा आठसय रुपैयाँसम्म पर्छ । ‘ठेकेदारबाट ल्याएको मूल्यमा ५० देखि सय/दुईसय रुपैयाँसम्म नाफा खाएर बेच्छौं’ १५ वर्षदेखि यही काम गर्दै आएका धादिङका ५७ वर्षीय शिवबहादुर भुजेलले भन्नुभयो । यसरी बोकेरै व्यापार गर्दा सटरको भाडा पनि तिर्नुपरेन । भुजेलले भन्नुभयो ‘भाडा तिर्न नपरेपछि पसलमा भन्दा सस्तो हुन्छ, त्यसैले ग्राहकको कमी हुँदैन ।’ 

पहिले सँगै काम गर्ने उहाँका कतिपय साथीले सटरमा पसल थापेका छन् । कोही बिदेश गएका छन् र कोही गाउँमै गएर खेतीपाती गर्दैछन् । भुजेल आफू पनि खेतिपाती गर्ने समयमा घर जानुहुन्छ र काम सकेर फेरि यतै आएर झोलाको व्यापार गर्नुहुन्छ । 

पहिलेको भन्दा अहिले झोलाको व्यापार बढेको भुजेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पहिले दिनमा चारपाँच ओटा झोलाको बिक्री भए पनि धेरै जस्तो लाग्थ्यो । अहिले त १०/१२ वटा झोला बेच्दा पनि सामान्य लाग्छ ।’ विद्यालय बढेको र गाउँका मान्छेको सहरतिर आउजाउ बढेकाले झोलाको व्यापार पनि बढेको उहाँको अनुमान छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया