गोली प्रहारबाट हत्या गरिएका युवा नेता चौधरीको दाहसंस्कार सम्पन्न

 मंसिर ९, २०७५ आइतबार १९:५:१४ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – गोली प्रहारबाट शुक्रबार हत्या गरिएका ने क पाका युवा नेता राजाबाबु भन्ने दीपेन्द्रकुमार चौधरीको आइतबार दाहसंस्कार कार्य सम्पन्न गरिएको छ ।

गएको शुक्रबार राति गोली प्रहारबाट हत्या गरिएका शुद्धोधन गाउँपालिका वडा नम्बर ४ का ३० वर्षीय युवा नेता चौधरीको हिन्दु धर्म संस्कार अनुसार स्थानीय साधु घाटमा दाहसंस्कार गरिएको हो । ने क पाका जिल्ला नेताहरुले मृतक चौधरीको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम सम्मान प्रकट गरेका थिए । हत्याको मुख्य आरोपित शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मोतीभारीका अजित पाण्डेय भने घटना लगत्तै फरार भएका छन् ।

हत्याको विरोधमा शनिबार मृतक चौधरीका आफन्तजन, शुभेच्छुक र कार्यकर्ताहरुले मुख्य आरोपित पाण्डेयको घर आगजनी गरी पूर्ण रुपमा ध्वस्त पारेका छन् । आगजनीका कारण झण्डै २ करोड रुपैयाँ बढीको धनमाल जलेर नष्ट भएको छ ।

हत्याको आरोपमा मृतक परिवारले शुद्धोधन गाउँपालिका ४ मोतीभारीका अजित पाण्डेयसहित ७ जना उपर कर्तव्य ज्यान मुद्धाका लागि जाहेरी दिएका छन् । प्रारम्भिक अनुसन्धानका लागि २ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो ।

मुख्य आरोपितको पहिचान भइसकेका कारण चाँडै नै पक्राउ हुने प्रहरी उपरीक्षक पुडासैनीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया