जीएमले कारखाना बन्द गर्ने, तीन हजारको रोजगारी धरापमा

 मंसिर १०, २०७५ सोमबार १२:५४:० | रासस
unn.prixa.net

जनरल मोटर्स (जीएम)ले क्यानाडाको ओशावामा रहेको आफ्नो मोटर उत्पादन कारखाना बन्द गर्ने अनुमान गरिएको छ । क्यानडेली टेलिभिजन च्यानल सीटीभीका अनुसार यो कारखाना बन्द हुँदा झण्डै तीन हजार कामदारको रोजगारी गुम्नेछ । 

च्यानलले धेरैवटा अज्ञात स्रोतको भनाई उद्धृत गर्दै जीएमका कारखाना पुनर्संरचना गर्ने योजनामा ओशावाको कारखानासमेत रहेको जनाएको छ । 

टोरन्टोबाट उत्तरपूर्व झण्डै ६० किलोमिटर टाढा रहेको ओशावा प्लान्ट सन् १९५३ मा स्थापना भएको थियो । यो कारखानामा हाल करिब दुई हजार ८०० जना श्रमिक कार्यरत छन् । यस कारखानामा सेभ्रोले र जीएमसी पिकअपका साथै चभ्रोलेट इम्पाला र क्याडिल्याक सेडानको उत्पादन हुने गर्दछ । 

ओशावाका मेयर जोन हेनरीले यो खबर सत्य नहोस् भन्ने चाहेको बताउनुभयो । 

ओन्टारियो प्रान्तमा जिएमका अरु तीनवटा प्लान्ट छन् । जिएमको नयाँ योजनबाट यी कारखानामा असर पर्ने वा नपर्ने अझै स्पष्ट भइसकेको छैन । 

गत महिना, कम्पनीले खर्च कटौती गर्न उत्तर अमेरिकाका कारखानामा कार्यरत श्रमिकको संख्या कटौती गर्ने घोषणा गरेको छ । यो योजनाबाट अमेरिका, क्यानाडा र मेक्सिकोका कारखानामा कार्यरत करिब ५० हजार श्रमिक प्रभावित हुनेछन् । यीमध्ये करिब १८ हजार अर्थात् करिब ३६ प्रतिशतको रोजगारी गुम्नेछ । 

पहिलो चौमासिकमा जिएमको आय २ अर्ब ५० करोड डलर थियो । अमेरिकी करवृद्धि र बिक्रीमा आएको मन्दीका कारण कम्पनीको आयमा नकारात्मक प्रभाव परेको छ
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया