सरसफाइ अभ्यास : नङ नकाटी भत्ता लिन आउनेलाई भत्ता नदिइने

 जेठ २९, २०७५ मंगलबार १०:३९:३८ | रासस
unn.prixa.net

रोल्पा –  उत्तरी रोल्पाको एक वडाले नङ नकाटेर भत्ता बुझ्न आउने सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता नदिने भएको छ । थवाङ गाउँपालिका–३, मिरुलले यस्तो अभियानको थालनी गरेको हो ।

पूर्ण सरसफाइ अभियानलाई टेवा पुर्‍याउने उद्देश्यले वडाले यस्तो अभियान चालेको बताएको छ । पूर्ण सरसफाइका लागि व्यक्तिगत सरसफाइ पहिलो खुड्किलो भएकाले सामाजिक सुरक्षा भत्ता बुझ्ने सरसफाइमा संवेदनशील होउन भन्ने उद्देश्यले यस्तो कार्यको थालनी गरेका हौँ, वडाध्यक्ष भीमबहादुर रोकाले भन्नुभयो । 

जनताको घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताउँदै नागरिकलाई समेत कर्तव्यप्रति जिम्मेवार बनाउन यस्तो अभियान थालेको रोकाले बताउनुभयो । वडामा पूर्ण सरसफाइ अभियान चलिरहेको भएपनि पूर्ण सरसफाइसम्बन्धी व्यवहार परिवर्तनको अवस्था निकै कमजोर रहेकाले यस्तो कामको थालनी गरेको अध्यक्ष रोकाले बताउनुभयो । 

वडा कार्यालयमा सेवा लिन आउने सबै सेवाग्राहीलाई व्यक्तिगत सरसफाइका लागि उत्प्रेरित गरिरहेका छौँ, वडासचिव चन्द्रज्योति सुवेदीले भन्नुभयो । साबुन पानीले हात धुने, कपाल कोर्ने, नङ काट्ने, शुद्धीकरण गरिएको पानी मात्र प्रयोग गर्ने कुरामा सेवाग्राहीलाई उत्प्रेरित गर्दै आएको सुवेदीले जानकारी दिनुभयो । 

सन् २०२१ भित्र वडालाई पूर्ण सरसफाइ उन्मुख वडा बनाउने लक्ष्य लिएका कारण अहिलेदेखि नै व्यवहार परिवर्तनमा जोड दिइरहेको सुवेदीले जानकारी दिनुभयो । 

सन् २०२२ भित्र जिल्लालाई पूर्णसरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने लक्ष्य निर्धारण गरिएकाले स्थानीय तहसमेत सक्रिय हुन थालेको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय रोल्पाका सरसफाइ फोकल पर्सन डिल्लीराज न्यौपानेले बताउनुभयो । १० स्थानीय तहमा ७२ वडा रहेको रोल्पामा हालसम्म एक वडा मात्रै पूर्ण सरसफाइ उन्मुख घोषणा भएको न्यौपानेले जानकारी दिनुभयो । 

अभियान सफल पार्न सबै स्थानीय तहले सक्रियता देखाएका कारण तोकिएकै समयमा जिल्ला पूर्णसरसफाइ उन्मुख हुनेमा आफू आशावादी रहेको न्यौपानेको भनाइ छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया