प्रतिकूल मौसमले हवाई उडान प्रभावित, इन्डिगाे र थाई एअर झन्डै एक घण्टा 'हाेल्ड'

 असोज ११, २०८१ शुक्रबार १६:२९:० | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा मात्रै उडान भइरहेका छन् । भद्रपुर, सिमरा, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा आज कुनै पनि उडान नभएका बताउँदै विराटनगरतर्फ दिउँसो ३ बजेदेखि नियमित उडान भइरहेका उहाँले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रियतर्फ पनि दुई वटा विमान झन्डै एक घण्टा 'होल्ड' मा परेर अवतरण गरेका प्रवक्ता शेर्पाले बताउनुभयो । भारतको नयाँ दिल्लीबाट काठमाण्डाै आइरहेको इन्डिगाे एअरलाइन्सको विमान र थाइल्यान्डको बैंककबाट आएको थाई एअर 'होल्ड' मा परेका बताउँदै अन्य अन्तर्राष्ट्रिय उडान पनि केही ढिलाइ (डिले) भएका उहाँले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडान भने अहिले नियमित भइरहेका छन् ।

लगातारको वर्षाले 'भिजिबिलिटी' कमजोर हुँदा हवाई उडान प्रभावित भएको हो । काठमाण्डाै विमानस्थलमा 'इन्ट्रमेन्ट फ्लाइट रुल्स' (आईएफआर) उडान मात्रै भइरहेका प्रवक्ता शेर्पाले बताउनुभयो । मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएका एअरलाइन्सले जनाएका छन् ।

देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै भारतको उत्तरमध्य महाराष्ट्र तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले मौसममा बदली हुनुका साथै वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया