झरीका कारण देशभरको जनजीवन प्रभावित, नारायणगढ–मुग्लिन सडक राति बन्द रहने

 असोज ११, २०८१ शुक्रबार १८:४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

लगातार वर्षाका कारण प्रभावित सर्लाहीको सदरमुकाम मलङ्गवा । तस्वीर : विश्वनाथ ठाकुर/रासस

काठमाण्डाै – निरन्तरको वर्षाले देशका धेरैजसो ठाउँको जनजीवन प्रभावित बनेको छ । पूर्वी नेपालमा ३० घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेको छ ।

गएरातिपछि मध्य नेपालमा मुसलधारे वर्षा भइरहेको छ भने भरे रातिदेखि पश्चिम नेपालमा पनि मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार झापाको चन्द्रगढी मापन केन्द्रमा २४ घण्टामा २ सय ९९ मिलिमिटर वर्षा मापन भएको छ । एक सय ४० मिलिमिटरभन्दा बढी पानी पर्दा त्यसलाई अति भारी वर्षा भनिन्छ । झापाकै गौरादह, केचना, अनारमनी र बाहुनडाँगी क्षेत्रमा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा अन्य क्षेत्रको तुलनामा काम वर्षा मापन भए पनि आज देशैभरि वर्षा भइरहेको छ । पूर्वी नेपालमा भोलि बेलुकादेखि मात्रै वर्षा कम हुँदै जाने मौसमविद् गोविन्द झाले बताउनुभयो । निरन्तरको वर्षाले प्राकृतिक विपत्ति आउन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुरक्षित रहन आग्रह गरेको छ ।

यसैबीच अहिले बाग्मती नदीले ललितपुरमा खतराको तह पार गरेको छ । यस्तै कपिलवस्तुमा वाणगङ्गा, बारामा पसाहा खोला, सिन्धुपाल्चोकमा मेलम्ची र झापामा निन्दा खोला खतराको तहमा पुगेका छन् । यस्तै वर्षाले नारायणी, तिनाउ, बाग्मती, कोशी, केशालिया, कन्काई, मेची, बलान खोला लगायतका ३० भन्दा बढी जलाधार क्षेत्रमा खतराको तह पार गरेको छ । कुनै क्षेत्रमा २४ घण्टामा १ सय ४० मिलिमिटर वा त्योभन्दा बढी पानी परेमा त्यसको जलाधार क्षेत्रमा खतराको तह पार गरेको मानिन्छ ।

बाढी पूर्वानुमान महाशाखाले विभिन्न क्षेत्रमा बाढीको जोखिम रहेको सन्देश पठाइरहेको छ । महाशाखाले पठाएको सन्देशमा कपिलवस्तुको कोइली नदी, सुनसरीमा सेउती, सर्दु, सुनसरी खोला, बुढी, खेसलिया, चिसाङ, लोहन्द्रा खोला लगायत अन्य स–साना खोला तथा पाल्पा र आसपासमा कालीगण्डकी नदी, तिनाउ नदी, निस्ती खोला, बिनई नदी, मुकुन्डे खोला लगायत स–साना खोलामा आकस्मिक बाढीको जोखिम छ ।

यस्तै सप्तरी र उदयपुरको त्रियुगा, मौली, खाडोखोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको जोखिम छ । झापा र आसपासको कन्काई, मेची, विरिङ, निन्दा र अन्य स–साना खोलामा पनि बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले निरन्तर झरी परिरहेका सबै क्षेत्रमा साना ठूला खोला तथा नदीमा जोखिम हुने भएकोले सावधानी अपनाउन भनेको छ ।

झरीका कारण सडक यातायात कष्टप्रद भएको छ । अहिलेसम्म मानवीय क्षतिको खबर नआए पनि यात्रुले निकै हैरानी भोगेको बताएका छन् । सडकमा समस्या आएका कारण पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई काठमाण्डौसँग जोड्ने सडकको नारायणगढ–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया