सक्नेले खाने, नसक्ने जाने भन्ने गैरजिम्मेवार प्रवृत्तिको अन्त्य भयो : प्रम ओली

 मंसिर ११, २०७५ मंगलबार १४:४८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं  – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो नेपाली समाज नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको सुरुवात गर्दै उहाँले अबदेखि हुँदा खाने अथवा पाएका बेला खाने र खान कठिन भएका, रोजगारीमा भएका वा रोजगारी गुमाएका अथवा रोजगारी नपाएका सबैलाई समेट्ने नयाँ प्रणालीको सुरुवात गरिएको बताउनुभयो । 

अघिल्लो पटक प्रधानमन्त्री हुँदा सबैका लागि सबैको सहभागितामा सामाजिक सुरक्षा योजना लागु गर्छु भनेर घोषणा गरेको सम्झँदै उहाँले अहिले निरन्तरतास्वरुप यो कार्यक्रम सुरुवात भएको बताउनुभयो ।  

हरेक परिवारको आर्थिक सुरक्षा र हरेक नागरिकको सुरक्षित भविष्य सुनिश्चित गर्ने काम सरकारले गर्ने भन्दै सरकार शासक नभई नागरिकको अभभिावक बन्ने काम गरेको बताउनुभयो ।  

यहाँसम्म आइपुग्न लामो संघर्ष र छलफलबाट मात्रै सम्भव रहेको भन्दै प्रधानमन्त्री ओलीले  २५ वर्षअघि थालेको काम आजबाट नयाँ आयाममा बदलिएर नयाँ युगको सुरुवात भएको बताउनुभयो ।  

२०५१ सालमा पहिलो पटक ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएर थालेको कामले आजबाट नयाँ चरणमा प्रवेश गरेको उहाँले बताउनुभयो । 

सक्नेले खाने, नसक्ने जाने भन्ने गैरजिम्मेवार प्रवृत्तिको अन्त्यका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रवन्ध गरिएको प्रधानमन्त्री ओलीको भनाई छ । यो कार्यक्रमले श्रमको सम्मान गर्ने र श्रममा लाग्न सबैलाई प्रेरित गर्ने विश्वास लिइएको पनि उहाँले बताउनुभयो ।  

सामाजिक सुरक्षा कार्यक्रम ज्याला वा रोजगारी गर्ने, युवा वा वृद्ध, रोगी वा स्वस्थ्य, बालबच्चा भएका वा नभएका, आम्दानी भएका वा नभएका सबैका लागि समान रहेको बताउनुभयो ।  
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया