चिया प्रशोधन उद्योग खुलेपछि किसानलाई सहज

 मंसिर १२, २०७५ बुधबार ७:१९:० | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – जिल्लाका चिया किसानको चार दशकभन्दा बढी समयको मेहनत र लगनशीलता यतिबेला सुखमा परिणत भएको छ । गाउँमै सुविधायुक्त चिया प्रशोधन उद्योग खुलेपछि जिल्लाका हजारौं चिया किसानलाई राहत पुगेको छ ।  

जिल्लाका ५ सयभन्दा बढी चिया किसान र ९ वटा चिया सहकारीले आफ्नै जिल्लामा चिया प्रशोधन कारखाना बनाएका छन् । हरियो पत्ती प्रशोधन गर्ने कारखाना जिल्लामै खुलेपछि सोल्मा सहित सुङनाम, जिरिखिम्ती, मोराहाङ, श्रीजुङ, हमुरजुङ, पञ्चकन्या, आङ्दिम बसन्तपुर, फुलेक, दाँंगपा र छिमेकी जिल्ला धनकुटा र संखुवासभाका साना चिया किसानले समेत राहत पाएका छन् । यी स्थानका किसानले व्यावसायिक चिया खेती गर्दै आएका छन् । 

साना चिया किसानलाई लक्षित गरी लालीगुराँस नगरपालिका–९ सोल्मामा सञ्चालनमा आएकोे चिया प्रशोधन कारखानाका कारण किसानले रोजगारी र आम्दानी दुबै पाएको सिंहदेवी चिया उत्पादक सहकारी संस्थाका व्यवस्थापक शंकर खनालले बताउनुभयो । जिल्लामै कारखाना खुलेपछि किसानका समस्या हटेको कारखानाका प्राविधिक बीरबहादुर बस्नेतले बताउनुभयो । 

हिलेमा रहेको चिया प्रशोधन कारखानाले हरियो पत्तीको प्रतिकेजी ५६ रुपैयाँ मात्र मुल्य दिँदै आएको थियो । तर जिल्लामै कारखाना खुलेपछि भने किसानले प्रतिकेजी ६५ रुपैया मुल्य पाउन थालेका छन् । प्रतिकेजी ९ रुपैया बढी मूल्य पाउँदा पत्ती बिक्रीबाट आम्दानी समेत बढेको किसान राम खनालले बताउनुभयो । 

कारखाना सञ्चालनमा आएपछि सोल्मासहित जिल्लाभर उत्पादन भएको हरियो पत्ती कारखानामा ल्याएर प्रशोधन गर्न थालिएको छ । कारखानामा प्रशोधन गरिएको हरियो पत्तीलाई संस्थामार्फत नै ग्रेडिङ, प्याकेजिङ र बजारीकरणसमेत भइरहेको छ । किसान एक्लैले यस्ता कारखाना स्थापना गरेर सञ्चालन गर्न नसक्ने भएकाले सहकारी संस्थाले सञ्चालनमा ल्याएको कारखाना साना चिया किसानका लागि उपयोगी भएको लालीगुराँस नगरपालिकाकी उपप्रमुख तिला पोखरेलको भनाइ छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया