युवा किसानको लोभलाग्दो कमाई : गहुँतको प्रयोगले तरकारी धेरै फल्यो

 मंसिर १२, २०७५ बुधबार ९:३९:२१ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – तीन वर्ष अघिसम्म तरकारीमा रासायनिक मल र विषादी प्रयोग गर्ने सन्धिखर्क २ घोचेखोलाका सुशील आचार्यले अहिले रासायनिक मल र विषादी प्रयोग गर्न छाड्नुभएको छ ।

‘रासायनिक मल र विषादीको प्रयोगले उत्पादन गरिएका तरकारी खानाले मानिसको स्वास्थ्यमा असर गर्छ भन्ने थाहा नहुनाले पहिले मल र विषादीको प्रयोग धेरै गरियो’ उहाँले भन्नुभयो, ‘ असर गर्छ भन्ने थाहा पाएपछि रासायनिक मलको सटा गोठे गोबर मल, कम्पोष्ट मल र गाईभैंसीको पिसाबमा पानी राखेर बिरुवामा छरेर खेती गरेका छौं, तरकारी खेती अत्यन्तै राम्रो भएको छ ।’

गाईभैंसीको पिसाब संकलन गरी ट्ंयाकीमा जम्मा गर्ने र पिसाबमा पानी मिसाइ बिरुवामा राख्ने गरिन्छ ।  उहाँले खेतमा काउली, साग, बन्दा, सिमी, बोडी, टमाटर  लगायतका तरकारी रोप्नुभएको छ । रासायनिक मल र विषादीको प्रयोग बिना लगाइएको तरकारी असाध्यै राम्रो भएको उहाँले बताउनुभयो ।

गाईभैंसीको पिसाब खेतबारीमा राख्न थालेपछि रासायनिक मलको प्रयोग हुन छाडेको छ । ‘तीन लिटर पानीमा एक लिटर पिसाब मिसाएर बारीमा राख्छौं । गाई भैंसीको पिसाब प्रयोग गर्दा  युरियाले भन्दा दोब्बर उत्पादन भएको छ’ उहाँले भन्नुभयो ।

आफैं नगरेसम्म कृषिमा क्रान्ति गर्न सकिँदैन भन्ने मान्यताका साथ सुशीलले १७ वर्षको उमेरदेखि व्यवसायिक गाइपालन र तरकारी खेतीमा लाग्नुभएको हो । अहिले २२ वर्षको हुनुभएका उहाँले तरकारी र दुधबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । 

जेटिए पढ्दै गर्दा कृषिमा केही गरेर देखाउनु पर्छ भन्ने उत्प्रेरणा जागेपछि उहाँ कृषि पेशामा लाग्नुभएको हो । उहाँले १२ रोपानी खेतमा तरकारी खेती गर्नुभएको छ । आठवटा गोलभेँडा टनेल छन् । तरकारी खेतीबाट सबै खर्च कटाएर वार्षिक १२ लाख रुपैयाँ आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

आचार्य कृषि तथा पशुपालन फार्म दर्ता गरेर कृषिमा लागेका आचार्यको गोठमा १२ वटा उन्नत जातका गाई रहेका छन् । जर्सी र होलीस्टान गाईको दैनिक ५० लिटर दुध बिक्री गर्ने र दुध बिक्रीबाट वार्षिक ८ लाख  रुपैयाँ जति आम्दानी हुने उहाँले बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया